कुशल श्रेष्ठ

“मेरो शरीरमा लामखुट्टेले टोकेर रातो चिलाउने दागले भरिएको छ, तर मेरो साथीलाई चाहिँ लामखुट्टेले केहि पनि गरेको छैन! कसरी हुन्छ यस्तो? के यो मेरो भ्रम मात्रै हो र?”

यदि यो जिज्ञासा तपाईँको मनमा पनि जागेको छ भने, सर्वप्रथम- यो तपाईँको भ्रम होइन। लामखुट्टेले साँच्ची नै कसैलाई बढि नै मन पराउँछन्। युनिभर्सिटी अफ फ्लोरिडाका लामखुट्टे विशेषज्ञ ‘डा. जोनाथन डे’ भन्छन्- “कुनै-कुनै व्यक्तिको छालाले विशेष प्रकारका रसायनिक पदार्थहरू उत्पादन गर्दछ र यस्ता रसायनहरूमध्ये कुनै-कुनै, जस्तै ल्याक्टिक एसिडले लामखुट्टेलाई आकर्षण गर्दछ। त्यसलगायत AB रक्तसमूह हुनेलाई भन्दा O रक्तसमूह हुने व्यक्तिलाई लामखुट्टेले बढि मन पराउने प्रमाण पनि भेटिएको छ।”Why do Mosquitoes bite me more than the others

तर दुर्भाग्यवश, तपाईँको रक्तसमूह र छालाले उत्पादन गर्ने रसायनिक पदार्थ तपाईँको वंशाणुगत गुण (जीन) मा भर पर्दछ। तपाईँको यहि जीनले नै अन्य धेरै कुराहरूको निर्धारण गर्दछ, जसको कारण तपाईँ लामखुट्टेको प्यारो बन्नुभएको छ। सायद सबैभन्दा महत्वपूर्ण कारकतत्वहरूमध्ये तपाईँको ‘मेटाबोलिजम दर’ पर्दछ, अर्को अर्थमा भन्नुपर्दा ‘तपाईँको शरीरले ऊर्जा निकाल्नको लागि पैदा गर्ने कार्बनडाइअक्साइडको दर’।

हो, तपाईँको शरीरबाट कति कार्बनडाइअक्साइड रिलिज हुन्छ भन्ने कुराले पनि तपाईँलाई लामखुट्टेले किन बढि टोक्छ भन्ने कुराको निर्धारण गर्दछ। लामखुट्टेले आफ्नो शिकार चिन्ने पहिलो माध्यम नै कार्बनडाइअक्साइड हो। “ढाड भएका सबै जीवहरूले कार्बनडाइअक्साइड फाल्दछन्। लामखुट्टेको लागि यो भन्दा राम्रो माध्यम अरू के हुन सक्ला र?”, डा. डे भन्छन्। हुन त, तपाईँले आफ्नो मेटाबोलिजम दरलाई खाना र व्यायाम बानीबाट नियन्त्रणमा राख्न सक्नुहुन्छ, तर डा. डे भन्छन् कि यसले लामखुट्टेको लागि त्यति धेरै फरक पार्दैन।Mosquito biting human skin (1)

गर्भवती महिला र मोटा मानिसहरूको मेटाबोलिजम दर अन्यको भन्दा बढि हुने गर्दछ, त्यसैले नै लामखुट्टेले उनीहरूलाई बढि टोक्ने सम्भावना बढ्दछ। त्यसलगायत, मद्यपान तथा कडा व्यायामले पनि तपाईँको शरीरबाट बढि मात्रामा कार्बनडाइअक्साइड ग्याँस रिलिज गरिरहेको हुन्छ, त्यति मात्रै होइन लामखुट्टे पनि तपाईँप्रति बढि आकर्षीत भैरहेको हुन्छ।

शिकार खोज्न लामखुट्टे तथा अन्य रगत चुस्ने परजीवीहरूका लागि कार्बनडाइअक्साइड ग्याँस प्राथमिक माध्यम भएतापनि उनीहरूले अर्को दोस्रो माध्यम पनि प्रयोग गर्छन्, जसबाट कार, कुहिएको फोहोर र अन्य कार्बनडाइअक्साइड फाल्ने वस्तुहरूको जमातबाट मानिसहरूलाई चिन्न सक्छन्। र डा. डे भन्छन्- “यो दोस्रो माध्यमलाई चाहिँ हामी आफैले नियन्त्रण गर्न सक्छौँ।”Mosquito biting human skin (2)

उदाहरणको लागि: फिक्का रङ्गको लुगाभन्दा गाढा रङ्गको लुगाप्रति लामखुट्टेहरू बढि आकर्षीत हुन्छन्। किन? “थोरै बढि चर्को हावामा पनि लामखुट्टेलाई उड्न गाह्रो पर्दछ, त्यसैले तिनीहरू जमीनको सतहसँग नजिक नै उड्ने गर्छन्।”, डा. डे भन्छन्- “यस्तो बेला तिनीहरूले वस्तुको चमकतालाई क्षितिजको चमकतासँग तुलना गर्छन्। जसको कारण गाढा रङ्गको वस्तुमा तिनीहरूले आँखा लगाउन भ्याउँछन् र फिक्का रङ्गको वस्तु क्षितिजको चकतासँग विलीन हुन जान्छ (लामखुट्टेको लागि)।” यसका साथै तपाईँको हिँड्ने चाल, थपक्क बस्दा चलिरहने बानीले गर्दा पनि लामखुट्टे तपाईँप्रति बढि आकर्षीत हुने उनी बताउँछन्।

त्यसो भन्दैमा यो गर्मी महिनाभरी नचली सेतो लुगा लगाएर थपक्क बसिराख्न पनि त सकिँदैन। यस्तो बेलामा लामखुट्टेको टोकाईबाट बँच्न डा. डे केहि सल्लाह दिन्छन्- “लुगा जस्तो लगाएपनि लामो बाहुला भएको, हलुका फाइबरबाट बनेको लगाउनुपर्दछ। अनि साँझ र विहानीपख लामखुट्टेको चहलपहल बढ्न थाल्दछ, किनभने यत्ति बेला हावाको बेग अन्य समयको भन्दा कमी हुन थाल्दछ। यत्तिबेला कोठाबाट बाहिर निस्किँदा तपाईँलाई मन पराएर लामखुट्टेहरू पछि लाग्न सक्छन्। त्यसैले यदि कोठामा लामखुट्टेको धूप बाल्ने बानी छ भने रातभरी बालिराख्नपर्दैन, ठ्याक्कै यत्तिबेला नै बाले पुग्दछ।”

यो पनि हेर्नुहोस्-
कागती लगाऔँ, लामखुट्टे भगाऔँ- कागतीलाई यसरी पनि प्रयोग गर्न सकिन्छ
लामखुट्टेले दुःख दियो ? यसो गर्नुस् (भिडियो सहित)
कुन रक्तसमूहलाई सबैभन्दा दुर्लभ मानिन्छ र किन?
आफ्नो रक्तसमूह अनुसार खानेबानीले स्वस्थ हुन्छ शरीर, यसरी छान्नुहोस् उपयुक्त खाना
गर्मी महिनामा बढि थकाई लाग्नुका पछाडि यस्ता छन् कारण