९ माघ, नेपालगन्ज।

बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ ।

विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले पनि अवैधरुपमा रोजगारका लागि खाडीमुलुक जाने महिलाको सङ्ख्या बढदै गएको देखाउँछ ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, भारत र खाडी मुलुकमा गएर हराएकामध्ये हालसम्म एक सय १३ जना फेला परेका छन् । फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ ।

‘बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेसिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ’ – संयोजक कोइरालाले भने।

कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी ७० प्रतिशत खाडी मुलुक र बाँकी भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यसवर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार प्रतिशत समेत बढेको छ ।

राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेको संयोजक कोइरालाले बताए।

‘महिलाको विश्वास जित्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनको भनाइ थियो ।

माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब एक हजारभन्दा बढी महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट फिर्तासमेत पठाएको जनाइएको छ । रासस