बोमलाल गिरी/१२ साउन, काठमाडौं ।

व्यवस्थापिका संसदले आफ्नै टेलिभिजन र रेडियो सञ्चालनदेखि सांसदहरुका लागि आवास गृह निर्माण गर्ने लगायतका महत्वपूर्ण योजना अघि सारेको छ । सुविधा सम्पन्न आफ्नै आधुनिक संसद भवन, पेपरको प्रयोग हटाउने गरी पेपरलेस संसद लगायतका योजना पनि अघि सारिएको छ ।

संसद सचिवालयले निर्माण गरेको अनलाइन र मोवाइल एप्स सार्वजनिक कार्यक्रममा सभामुख ओनसरी घर्तीले यस्तो जानकारी गराएकी हुन् । त्यसका लागि निरन्तर प्रयास भइरहेको र केही प्रगती पनि भएको उनले सुनाइन तर के प्रगती भन्नेमा चाँही उनले खुलाउन चाहिनन् ।

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले सभामुखले भने अनुसारको तयारी पनि भइरहेको जानकारी दिए । सचिवालयले अहिले आफ्नै वेभसाइट मार्फत संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने गरेको छ ।

त्यस्तै सिंहदरवार भित्रैको पुतली बगैचामा संसद भवन बनाउने भनिए पछि अहिलेसम्म सरकारबाट जग्गा प्राप्त भइनसकेको सचिवालयको भनाई छ । अहिलेको नयाँ बानेश्वरको संसद भवन भने सरकारले भाडामा लिएको हो ।

संसदको भाडा वार्षिक १० करोड
उक्त भवनको वार्षिक भाडा झण्डै १० करोड पुगेको छ । शुरुमा संविधान सभा प्रयोजनका लागि भनेर दुई वर्षका लागि भाडामा लिएको तत्कालिन अन्तराष्ट्रि सम्मेलन केन्द्रको भवन संविधान सभा अवधि लम्बिएसँगै सम्झौता पनि लम्बिएको छ ।

संविधान सभा नै संसदमा परिणत भएको र सांसदहरुको संख्या ठूलो (६०१) भएका कारण उक्त भवनलाई निरन्तर भाडामा लिनु परेको छ । भवनको भाडा वार्षिक १० प्रतिशतका दरले बढाउँदै लैजाने सम्झौता छ ।

सांसदको गुनासोः हामीलाई टिभिले देखाएन
संसदमा भइरहेका गतिविधि टेलिभिजन मार्फत प्रशारण गर्नका लागि संसद सचिवालयको खर्चमा क्यामरा म्यान राखिएको छ । उनीहरुले खिचेर बाहिर पठाएको दृष्यलाई अन्य टेलिभिजनहरुले क्याप्चर गरेर प्रशारण गर्ने गर्छन ।

तर यसरी भित्रबाट टेलिभिजनमा दृष्य कैद गर्दा आफूहरुलाई वास्ता नगरिएको भन्दै केही महिला सांसदले गुनासो गरेका छन् । उनीहरुले केही दलका वरिष्ठ नेताहरुलाई मात्र बढी फोकस गर्ने गरेको भन्दै गुनासो गरे ।

‘तपाई किन टेलिभिजनमा नदेखिनु भएको ? गाउँघर तिर जाँदा जनताले प्रश्न सोध्ने गर्छन, एक महिला सांसदले भनिन्, ‘हामी दिनहुँ बैठकमा आएर पनि हामीलाई चाँही नखिच्ने, हामीले गाउँका जनतलाई के जवाफ दिने ?’

युएनडीपीको आर्थिक सहयोगमा आधुनिक वेभसाइट र मोवाइल एप्स निर्माण गरिएको हो । वेभसाइटमा संसदका नियमित गतिविधि, जनतासँग सांसदका कुरा, जनताका सुझाव, भिडियो संग्रह, अनलाइन पुस्तकालय, इेतिहासिक सामाग्री लगायतका विषय हेर्न र पढ्न पाइनेछ ।

उक्त वेभसाइटका लागि http://parliament.gov.np/np र www.can.gov.np मा लगईन गरेर हेर्न सकिन्छ ।