८ साउन, काठमााडौं ।

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि बहस सुरुभएको छ ।

न्यायधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा सुनुवाई हुँदैछ ।

गत विहीवार न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दालाई पूर्ण इजलाशमा पठाउने निर्णय गर्दै मुद्दा अघि नबढाउन विशेष अदालतलाई भनेको थियोे ।

आज बहस सकिए सम्भवतः आज सुनुवाई हुनेछ । शर्माकी श्रीमती कल्पना उप्रेतीले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै रिहाइको माग गरी बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन ।

शर्माविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान अयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । अख्तियारले शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको छ ।

शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख ८ सय ४२ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ ।

यो मुद्दा अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा हो । अख्तियारले शर्मालाई गत जेठ १९ मा नियन्त्रणमा लिएको थियो । शर्मा अख्तियारको हिरासतमा छन् भने महत र ढकाल फरार छन् ।