चरिकोट, २७ पुस । सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो । दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ ।

दोलखा लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छन् । दोलखाको एक मात्र बहिरा पढ्ने विद्यालय भीमेश्वर बहिरा प्राथमिक विद्यालयमा कक्षा २ सम्मको मात्र पढाइ हुने गरेको छ ।

laxmi

बहिरालाई लक्ष्य गरेर सञ्चालन गरेको यो विद्यालयमा ३५ जना विद्यार्थी छन् । यहाँ १६ देखि २४ वर्षसम्म उमेर भएका विद्यार्थी पढ्न आउँछन् । तर यहाँ उमेर समूहका आधारमा र कक्षा चढेका आधारमा विद्यालय नहुँदा दोलखाका थुप्रै बहिरा शिक्षा लिनबाट वञ्चित छन् । यही उदारहण हो लक्ष्मी श्रेष्ठको पनि ।

उनी भूकम्प जानुभन्दा पहिले सिन्धुपाल्चोक बाह्रबिसेमा रहेको सिन्धु बहिरा निमाविमा पढ्थिन् । भूकम्पको त्रासले सिन्धु बहिरा विद्यालयसँगको समबन्ध छुटायो उनलाई । त्यही भूकम्पले गर्दा उनी आफ्नो घर लाकुरीडाँडा आइन् । लाकुरीडाँडामा आमाबुबासँग बसे पनि उनलाई विद्यालय पढ्नु पर्छ भन्ने कुराले पिरोलिरहेको र आमाबुबाले आफ्नो साङ्केतिक भाषा नबुझेकै कारण आफू घर छोडेर २ कक्षामा पढ्न आएको लक्ष्मी बताउँछिन् ।

ज्ञवालीले भने, ‘कानुनी उपचार खोज्छुुु’

आफ्नो बाआमाको आर्थिक अवस्था कमजोर भएका कारण पनि आफ्नै जिल्लाको स्कुलमा पढ्न बाध्य भएको उनको भनाइ रहेको छ । उनी भन्छिन् – “मलाई रहर छैन २ कक्षामा पढ्न, फेरि जाने ठाउँ पनि कहीँ छैन । आमाबुबासँग बसेर समय काट्नुभन्दा बहिरासँगै केही सिकौँ भनेर म कक्षा २ मा अध्ययन गरिरहेको छु ।”

“मलाई धेरै दुःख पनि लाग्छ, लाज पनि लाग्छ, किनकी मैले ८ कक्षामा पढ्दा धेरै जानेको थिएँ, अहिले २ मा पढेको कुरा मैले फेरि पढिरहेको छु,” उनी दुखेसो गर्दै भन्छिन्, “मानिस अगाडि बढ्छन् तर मेरो जिन्दगी पछाडि फर्किएको छ । मैले दुई वर्ष मात्रै पढ्ने अवसर पाएको भए यति बेला एसएलसी पास गर्ने थिएँ होला । पढ्ने अवसर गुम्दा जिन्दगीमा थुप्रै अवसर गुम्यो ।”

उस्तै पीडा बोकेर दुःखका स्वर सुनाइरहेका छन्, यस बहिरा विद्यालयमा पढ्ने विद्यार्थीले । यहाँ आमाबुबा गुमाएका, आमा वा बुबा गुमाएका, कान नसुन्ने, बोली बोल्न नसक्नेहरु पढिरहेका छन् । एउटै कक्षा कोठामा तीन वटा कक्षा भनेर पढाइ भइरहेको छ । दुईतिर फर्केर कक्षा सञ्चालन भइरहेको छ यहाँ ।

पछाडि एक कक्षा चलिरहेको भने अगाडि दुई कक्षा सञ्चालन भइरहेका छन् । बाल कक्षा बाहिर चौरमा पढाउने गरेको प्रधानाध्यापक विद्या कार्की बताउँछिन् । अहिले यस विद्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । भवन निर्माणपछि बहिराको जीवनमा खुसी आउने प्रधानाध्यापक कार्की बताउँछिन् । भवन मात्रै त बहिराको सबथोक होइन गुणस्तरीय शिक्षा पनि बहिराका लागि आवश्यक हुन्छ ।

विषयगत शिक्षक यहाँ भइदिए बहिरालाई सजिलो हुने प्रधानाध्यापक कार्कीको भनाइ छ । उनी भन्छिन् – “यहाँ दुई कक्षा मात्र छ तर धेरै कक्षा पढेका विद्यार्थी पढ्न आउँछन् । यस विद्यालय निमावि तहसम्म भइदिए केही सजिलो हुन्थ्यो । विद्यार्थीको तह छुट्याउन गाह्रो भयो ।”

यो विद्यालय आर्थिक हिसाबले पनि ज्यादै कमजोर छ । प्रधानाध्यापक बहिरा नै छिन् । यसले विद्यार्थीलाई सहयोग त पुर्याएको छ तर शिक्षा कार्यालयले बाल शिक्षाको कोटामा पठाएको शिक्षिका बहिरा वा साङ्केतिक भाषा जानेको नहुँदा ज्यादै अप्ठेरो परेको प्रअ कार्कीको भनाइ छ । उनी थप्छिन् – “नसुन्ने र सुन्ने विद्यार्थी अर्थात् साङ्केतिक पढ्ने अन्य विद्यार्थी भइदिए नसुन्नेलाई ऊर्जा पैदा हुने थियो र यो व्यवस्थाका लागि मैले सम्बन्धित निकायसँग आग्रह गरिरहेको छु, कसैले सुनेन ।”

बहिरालाई दया गर्ने मात्र हैन अवसर दिनु पनि आवश्यक रहेको प्रअ कार्कीको भनाइ रहेको छ । रासस