२० असार, काठमाडौं ।

१ सय ८० मेगावाटको आँधीखाला जलासययुक्त आयोजनाको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणका ट्रेड युनियन विभाजित भएका छन् । सरकारले चाईना गेजुवा ग्रुप कर्पोरेशनलाई आयोजना दिने तयारी गरेपछि एमाले निकट कर्मचारी संगठनले विरोध गर्दै प्रवन्ध निर्देशकको कार्यकक्षमा तीन दिनदेखि तालावन्दी गरेको छ ।

rahughat hydroelectricity project

कांग्रेस, एकीकृत माओवादीसहितका पाँच कर्मचारी सँगठनले प्राधिकरणलाई घाटा नहुने गरि मात्रै सहकार्य आगाडी बढाउन माग गरेका छन् । आज उर्जामन्त्री राधा ज्ञवालीलाई आयोजनाको संयुक्त विकास गर्ने नाममा प्राधिकरणलाई घाटा नहुने गरि काम अगाडी बढाउन माग गरेको राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष खगेन्द्र शाहीले जानकारी दिए ।

उनीहरुले पिपिए सम्बन्धी नीति बनाउनुपर्ने, कालीगण्डकी जलविद्युत आयोजनालाई असर गर्ने अवस्थामा क्षतिपूर्ति दिनुपर्ने, स्थानीय जनताको शेयरका साथै क्षतिपूर्ति उपलब्धको सुनिश्चित गरेर मात्रै आयोजनाको सम्झौता हुनुपर्ने माग गरेका छन् ।

एमाले निकट नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमालले भने बैदेशिक कम्पनीलाई दिन नहुने र दिएपनि प्राधिकरणलाई लाभ हुने आधारमा दिनुपर्ने बताए । सरकारले चाईना गेजुवा ग्रुपको ८५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको १५ प्रतिशत लगानी रहने गरि आयोजना अगाडी बढाउने तयारी गरेको छ ।