१ साउन, काठमाडौं ।

नेपाल आंशिक प्राध्यापक संघले विरोध कार्यक्रम अन्तर्गत आज त्रिविका देशभरि रहेका ६० वटा आंगिक क्याम्पसहरूमा तालाबन्दी गरेको छ । संघले ती क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको छ ।

नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि कार्यरत आंशिक प्राध्यापकहरूलाई करार र प्रक्रिया पुर्याई स्थायी गर्नुपर्ने माग राख्दै गएको वर्ष चैत्र महिनादेखि विभिन्न संघर्षका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तालाबन्दी गर्ने क्रममा क्याम्पसहरूमा खासै अवरोध नभए पनि उपकूलपतिको कार्यालयमा भने व्यापक रूपमा परिचालित प्रहरीबलको अवरोधका कारण तालाबन्दी गर्ने कार्य विफल हुन पुग्यो ।

तालाबन्दीका कारण राजधानीका आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, अस्कल, सानोठिमी लगायत राजधानी बाहिर देशैभरिका त्रिवि आंगिक क्याम्पसहरूको प्रशासनिक र आर्थिक काम कारवाही ठप्प हुन पुगेको छ ।

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयकोे मुख्य गेटमा विगत एक हप्तादेखि दिँदै आएको धर्ना आज पनि जारी रह्यो ।

शशांक कोइरालाले सम्झाए भीसीलाई

सिनासको कार्यक्रममा भाग लिन आज कीर्तिपुर पुगेका नेपाली कांग्रेसका नेता शशांक कोइरालालाई आकस्मिक रूपमा नेपाल आंशिक प्राध्यापकहरूले भेटघाट गरेपछि केही समय उपकूलपति तीर्थ खनियाँ, आंशिक प्राध्यापक संघका नेताहरू र नेपाली कांग्रेसका नेता शशांक कोइरालाबीच छलफल हुन पुग्यो ।

सो छलफलका क्रममा नेता कोइरालाले उपकुलपति खनियाँलाइर्, “तपाईले यो के गरेको, प्राध्यापक वर्गलाई यसरी लामो समय आन्दोलनमा राख्नुहुन्न, एक हप्तामा समाधान खोज्नुस् भनी सम्झाएका थिए ।