७ माघ, काठमाडौं । चावहिलको सुकेधाराबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ ।

यातायात व्यवस्था विभागले आजदेखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र वाग्मतीको सेवा विस्तार गरेको हो ।

कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम महतोले उपत्यकामा चारवटा यातायात कार्यालय भएपछि सेवाग्राहीले सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न रातिदेखि लाइन बस्नुपर्ने झन्झट अन्त्य भएको बताए ।

Driving licence

“एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सेवाग्राहीले सहज रुपमा सवारी चालक अनुमति पत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हुँदैन, कार्यालय खुलेका स्थानमा परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोल्ने पनि मन्त्रालयको योजना छ,” – उनले भने ।

हाल मोटरसाइकलको परीक्षण केन्द्र (ट्रायल सेन्टर) यातायात व्यवस्था विभाग मीनभवनमा र कारको परीक्षण केन्द्र (ट्रायल सेन्टर) नेसनल ट्रेडिङ, रामशाहपथमा हुँदै आएको छ । सीमित परीक्षण केन्द्र (ट्रायल सेन्टर) हुँदा अनुमति पत्रका लागि प्रयोगात्मक परीक्षा दिन समय कुर्नुपर्ने समस्या रहेको सेवाग्राहीको गुनासो छ ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले सुकेधारामा कार्यालय खोल्न चौथोपटक विज्ञापन गरेर घरभाडा सम्झौता गरिएको जानकारी गराए । “यहाँ कार्यालय खोलेपछि सवारी जाम भएर समस्या हुन्छ भन्ने स्थानीयवासीको गुनासो थियो, तर त्यस्तो हुन दिन्नौँ” – उनले भने ।

कार्यालयमा आइतबारदेखि सवारी चालक अनुमति पत्र नवीकरण गरिने र परीक्षण केन्द्र (ट्रायल सेन्टर) खोलेपछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख सुन्दर भट्टराईले बताए । अनुमति पत्र लिन सेवाग्राहीको भीड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न चार महिनाअघि निर्देशन दिएको थियो । निर्देशनअनुसार खुलेको सो कार्यालयको मासिक भाडा रु एक लाख तीन हजार पर्नेछ ।

नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमति पत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत गर्न सकिने व्यवस्था छ । यसअघि विभागले काठमाडौँको स्वयम्भूस्थित ठूलो भ-याङ र भक्तपुरको जगातीमा पनि कार्यालय स्थापना गरेको थियो ।

विभागले एक महिनाअघिदेखि सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुवात् गरेको छ । अनलाइनबाट भर्न सकिने भनी सुरु गरिएको सेवामा प्राविधिक समस्या देखिने गरेको सेवाग्राहीको गुनासो छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमति पत्र वितरण सुरु गरेको थियो । रासस