३ जेठ, काठमाडौं ।
राइजिङ पुने सुपरजाइन्ट आइपिएलको १० औं संस्करणको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा अंक तालिकामा पहिलो स्थानमा रहेको बलियो मुम्बई इण्डियन्सलाई २० रनले हराउँदै पुने फाइनलमा प्रवेश गरेको हो ।

१६३ रनको सामान्य लक्ष्य पछ्याए पनि मुम्बईका खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा पुनेले फाइनलको टिकट काट्यो । पराजित भए पनि अझै पनि मुम्बइको फाइनलको बाटो बाँकी छ । अब तेस्रो र चौथो स्थानमा रहेका सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सको विजेतासँगको खेल जिते मुम्बई फाइनलमा प्रवेश गर्नेछ ।

मुम्बईलाई हराउनका लागि महेन्द्रसिंह धोनीको योगदान निक्कै महत्वपूर्ण रह्यो । धोनीले ५ छक्काको मद्दतमा २६ बलमा ४० रन बनाए । अजिन्का रहानले ४३ बलमा ५६ रन बनाए । मनिष तिवारीले ४८ बलमा ५८ रन बनाएपछि पुनेले १६३ रनको चुनौति दिएको थियो ।

तर, मुम्बईका लागि पार्थिव पटेलले ५२ रनको योगदान दिनुभन्दा बाहेक अरु खेलाडीले गतिलो योगदान नगरेपछि मुम्बई १४२ रनमै रोकियो । पुनेका लागि सन्डर र ठाकुरले तीनतीन विकेट लिए ।