काठमाडौं, ४ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अहिले चेन्नाइ सुपर किँग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् ।

हैदरावादमा चेन्नाइले टस जितेर पहिला ब्याटिङ थालेको छ । जारी सिजनमा दुई टिम पहिलो पटक भिड्न लागेका हुन् । पछिल्ला पाँच भिडन्तमा भने साविक बिजेता चेन्नाइले चार र साविक उपबिजेता हैदरावादले एक खेल मात्रै जितेको छ । अघिल्लो संस्करणको फाइनलमा चेन्नाइले हैदरावादलाई ८ विकेटले हराएर उपाधि जितेको थियो ।

चालु सिजनमा पनि आठ खेल खेल्दा एक खेल मात्रै हारेको चेन्नाइ १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जिते १६ अंकसहित महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाइ पाँच खेल अगावै प्लेअफमा प्रवेश गर्ने छ । आज धोनीको धुन प्लेअफ प्रवेश गर्ने रहेको छ भने हैदरावाद घरेलु मैदानको फाइदा उठाउँदै चेन्नाइलाई रोक्ने तयारीमा छ । ७ खेलमा ३ खेल मात्रै जितेको हैदारावाद ६ अंकसहित पुच्छारबाट तेस्रो स्थानमा छ ।