काठमाडौं, १ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित दर्ता गराएको छ । लगातार ६ हारपछि पहिलो जित दर्ता गराउने क्रममा बिराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले किंग्स इलाभेन पञ्जावलाई ८ विकेटले हराएको हो ।

शनिबार राति मोहाली क्रिकेट मैदानमा पञ्जावले दिएको १ सय ७४ रनको बिजय लक्ष्य बैंगलोरले ४ बल बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान कोहलीले सर्वाधिक ६७ र पार्थिव पटेलले १९ रन बनाए भने एबी डे भिलियर्स ५९ र मार्कस स्टोइनिस २८ रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको पञ्जावले ४ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । ५ छक्का र १० चौका हिर्काएका क्रिस गेल ९९ रनमा नटआउट रहे । केएल राहुल १८, मयन्क अग्रवाल १५ र सरफराज खानले १५ रन जोड्दा मन्दिप सिंह १८ रनमा अविजित रहे । पञ्जावको टिम दुई वर्षपछि पहिलो पटक घरेलु मैदानमा पराजित भएको हो ।

कोहलीले तोडे आफ्नै रेकर्ड
लगातारको हारपछि निराश भएका बैंगलोरका कप्तान बिराट कोहली पञ्जवसँगको जितपछि भने केही खुशी देखिएका छन् । गर या मरको अवस्थामा जित निकालेपछि उनी खुशी भएका हुन् । पञ्जावविरुद्ध सर्वाधिक ६७ रन बनाएका कोहलीले आफ्नै रेकर्ड तोडेका छन् ।

कुनै पनि विकेटका लागि साझेदारी रन उनले एबी डे भिलियर्ससँग २७ सय ९० पुर्याएका छन् । यसअघि क्रिस गेलसँग उनको २७ सय ८७ रनको सझेदारी थियो । टिमले लगातार हार भोगेपनि कोहलीले चालु सिजनका ७ खेलमा गरी २ सय ७० रन बनाएका छन् ।

उनी जारी सिजनमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा छैटौं नम्बरमा छन् । तर उनी आइपीएलमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटरमा भने पहिलो नम्बरमा पर्छन् । अहिलेसम्म खेलेको १ सय ७० खेलबाट कोहलीले ५ हजार २ सय १८ रन बनाएका छन् ।