१२ असार, काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले पर्सि बुधबार (असार १४) गते हुने दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्नको लागि आम मतदाताहरुलाई आह्वान गरेका छन् ।

उनले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबै सुरक्षा निकायहरुलाई परिचालन गरिएको छ, त्यसैले सबै मतदाताहरु मतदान केन्द्रमा गएर आफ्नो मताधिकार प्रयोग गर्नुहोस्, तपाईहरुलाई चाहिने सबै सुरक्षा व्यवस्था हामीले गरिसकेका छौं ।’

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाईसकेको बताएका हुन् ।

मतदाताहरुलाई मत हाल्न जाँदा कुनै बाधा, अबरोध नआउनेबारे आश्वस्त पार्दै मन्त्री शर्माले भने, ‘तपाईहरु आफ्नो मताधिकार स्वतन्त्र, भयरहित र निर्भिक रुपमा गर्न पाउनुहुनेछ, त्यसको लागि तपाईहरुलाई जस्तोसुकै सुरक्षा दिनपनि सरकार तयार छ ।’

उनले सुरक्षाको दृष्टिकोणले निर्वाचनबारे तर्साउने प्रयत्न भएकोले सुरक्षा योजना थप परिस्कृत र परिमार्जन समेत गरिएको जानकारी दिए ।

उनले भने, ‘सुरक्षामा अब कुनै समस्या छैन, मतदानस्थल सुरक्षित छन्, मतगणना गर्नपनि सुरक्षा बलियो बनाईएको छ ।’ मन्त्री शर्माले आफू सुरक्षा प्रबन्ध र अवस्था बुझ्नको लागि निर्वाचन हुने सबै प्रदेशमा पुगेको र सुरक्षा निकायसँग गोष्ठी समेत गरेको बताए ।

उनले थपे, ‘पहिलो चरणको निर्वाचनबाट हामीले धेरै कुरा सिकेका छौं, त्यसकारण यो पटक सुरक्षा निकायको प्रयोग दरिलो र बलियो रुपमा अगाडि बढाईएको छ, पहिलो चरणकोभन्दा यस पटक सुरक्षा निकायको प्रयोग सशक्त र प्रभावकारी हुनेछ ।’

मन्त्री शर्माले भने,‘हरेक प्रदेश र हरेक जिल्लामा सुरक्षा योजना बनाईएको छ, पहिलेको भन्दा अहिले सुरक्षा योजना परिमार्जन गरिएको छ, त्यही अनुसार सरक्षा योजना कार्यान्वयन भैरहेको छ, म तीन वटै प्रदेशका मुख्य मुख्य स्थानमा पुगेर आएको छु, त्यहाँ मैले सबै सरोकारवाला पक्षसँग छलफल गरें, र उहाँहरुको सुझावलाई आत्मसात् गर्दै सुरक्षा योजनामा हामीले यो पटक परिमार्जन र परिस्कृत गरेका छौं ।’