२९ भदौ, काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् । आयोगका आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिले भ्रमणको सहमति दिएको हो ।

निर्वाचन आयोगले भदौ १५ देखि निर्वाचन आचारसंहिता लगाएर सरकारलाई सरुवा, बढुवा, भ्रमणलगायत कार्यक्रम स्वीकृत नगर्न आग्रह गरेको थियो । तर, आयोग आफैले एकैपटकमा २१ जनालाई विदेश भ्रमणमा जान सहमति दिएको छ । आजको नागरिकमा खबर छ ।

सचिवहरू विष्णुप्रसाद लम्साल (राष्ट्रिय योजना आयोग), रामकुमार आचार्य (प्रधानमन्त्री कार्यालय), मणिराम वझा (सत्य निरूपण तथा मेलमिलाप आयोग), नृपध्वज निरौला (बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग), यामकुमारी खतिवडा (राष्ट्रिय सूचना आयोग), बद्रीप्रसाद गौतम (नायब महान्यायाधिवक्ताको कार्यालय), शम्भु कोइराला (क्षेत्रीय प्रशासक हेटौंडा), राजेश्वरमान सिंह (प्रशासन कार्यालय धनकुटा), कृष्णप्रसाद देवकोटा (भूमिसुधार तथा व्यवस्था मन्त्रालय) चीन भ्रमणमा गएका छन् ।

त्यसैगरी चीन भ्रमणमा गएका उच्च तहका कर्मचारीमा रामुप्रसाद डोटेल (उपमहानियन्त्रक महालेखा), सहसचिवहरू सुदर्शन ढकाल (शान्ति तथा पुनर्निर्माण मन्त्रालय), हरिप्रसाद जोशी (सहन्यायाधिवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोग), कर्णप्रसाद न्यौपाने (युवा तथा खेलकुद मन्त्रालय), कुलप्रसाद चुडाल (राष्ट्रपति कार्यालय), लीलादेवी गड्तौला (कानुन मन्त्रालय), ईश्वरराज पौडेल (गृह मन्त्रालय), रघुराम बिष्ट (सहरी तथा गरिबी निवारण मन्त्रालय), प्रकाश दाहाल, शिवराम न्यौपाने र सुप्रभा ढुंगेल (सामान्य प्रशासन मन्त्रालय), खगेन्द्रप्रसाद सुवेदी (मनोविज्ञानवेता, लोकसेवा आयोग) छन् ।

चीन सरकारको निमन्त्रणामा संघीय प्रान्तको अध्ययनका लागि कर्मचारीको टोली त्यसतर्फ गएको जानाकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले दिए । ‘यो निर्वाचनको मुखमा बनाइएको कार्यक्रम होइन, पूर्वनिर्धारित कार्यक्रम हो’, उनले भने, ‘विशुद्ध भ्रमणमा गएका होइनन् । फर्केपछि अध्ययन प्रतिवेदन बुझाउनुपर्छ ।’ उनले ती सरकारी अधिकारी निर्वाचन आयोगको स्वीकृति लिएर भ्रमणमा गएको स्पष्ट पारे ।