२८ भदौ, महोत्तरी ।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनको लागि महोतरीका राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन गरी कार्यक्रम गर्न थालेका छन् । निर्वाचन आचारसंहिता विपरीत महोतरीमा कार्य भइरहेको भन्दै चारैतिर आलोचना भएपनि प्रहरी प्रशासनले सक्रियता बढाएको छैन ।

टिसर्ट र टोपी लगाएर नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपाको कार्यकर्ताहरु प्रचारप्रसारमा लागेका छन । दलहरुले निर्वाचन आचारसंहिता विपरीत पञ्चेबाजा बजाएर घरदैलो कार्यक्रम गरेको छ ।

चुनावी प्रचारकै लागि जलेश्वर, बर्दिवास, गौशाला औरही नगरपालिकासहित १० नगरपालिका र ५ गाउपालिकाको विभिन्न सार्वजनिक ठाउमा विभिन्न पार्टीको झण्डा र चुनाव चिन्ह भएको झण्डा राखेका छन ।

तर सदरमुकाम जलेश्वर र वर्दिबासका सार्वजनिक स्थलमा टाँगिएका दलका झण्डा, चुनाव चिन्ह, ब्यानरलगाएत प्रचार सामग्री हटाएको मुख्य निर्वाचन कार्यालय महोत्तरीका मुख्य निर्वाचन अधिकृत किरण पोखरेलले बताए ।

चुनावी प्रचारमा बालबालिकको प्रयोग, ठूलो आवाडमा पार्टीको प्रसार–प्रचार गर्दै कार्यकर्तालाई टिसर्ट र टोपीलगायतका पार्टीका चुनाव चिन्ह अंकित सामग्री वितरण गरिएको छ ।

प्रमुख निर्वाचन अधिकृत किरणकुमार पोखरेलकाअनुसार स्थानिय तह निर्वाचन आचारसंहिता ०७३ को परिच्छेद २ को (झ) बमोजिम सार्वजनिक स्थलमा टागिएका प्रचार सामग्री जफत गरिएको जनाए ।

निर्वाचनसम्वन्धि प्रचार प्रसारकालागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल , सडक , खम्वा वा संरचनालगाएतका कुनै पनि सार्वजनिक पर्चा टाँस्न वा टाँस्न लगाउन लेख्न वा लेख्न लगाउन नपाइने व्यवस्था छ ।

त्यसको उल्लंघन गर्दै जथाभावि प्रचार समग्री प्रयोग गरेको पाइएको जिल्लाभर आचारसंहिता पालनामा कडाई थालिएको कार्यालयले जनाएको छ ।