१९ मंसिर, पोखरा । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण शुरु गरेका छन् ।
परिचय वितरण बुधबार पनि जारी रहनेछ । कास्की जिल्लाका ३१७ वटै मतदान केन्द्रमा सोमबार नै मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मी पुगिसकेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार मतदाता शिक्षा स्वयंसेवकले मत बदर नहोस् भनेर मतदाता शिक्षाबारेमा पनि मतदातालाई जानकारी गराएका छन् । कर्मचारीले बिहीबार हुने मतदानस्थलमा पुरुष तथा महिला मतदाताको छुट्टाछुट्टै लाम तथा अपाङ्गतायुक्त, अशक्त र ज्येष्ठ मतदातालाई सहज तरिकाले मतदान गर्ने व्यवस्थासमेत गर्नेछन् ।

महिला कर्मचारी बिहीबार हुने निर्वाचनका लागि चार मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ । क्षेत्र नं १ को अमरसिंह नमूना मावि रामघाट, क्षेत्र नं २ को पार्दी मावि पार्दी र नवीन मावि गौरापाटन र क्षेत्र नं ३ को बाराही मावि मालेपाटन मतदान केन्द्रमा सबै महिला कर्मचारी खटाइएको छ । एक सय ५० मतदानस्थल रहेको कास्कीको निर्वाचनमा सुरक्षाकर्मीबाहेक तीन हजार ८३२ कर्मचारी छन् ।

यस पटक मतदान अधिकृत र सहायक मतदान अधिकृतको मतदान केन्द्र छनोट गोला प्रथाबाट गरिएको थियो । जिल्लाका एक महानगरपालिका र चार गाउँपालिकामा दुई लाख ५५ हजार ४५२ मतदाता छन् । जिल्लामा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्र छन् ।

कर्मचारी मतदान केन्द्रमा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्मचारी कास्कीका सबै मतदान केन्द्रमा पुगेका छन् । जिल्लामा कुल ३१७ मतदान केन्द्रका लागि सम्बन्धित मतदान अधिकृत निर्वाचनका सामग्री लिएर पुगिसकेको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

“मतदान अधिकृतहरूले सर्वदलीय बैठक राखेर नयाँ मतदाता परिचयपत्र वितरण पनि शुरु गरिसक्नुभएको छ,” उनले भने, “मौन अवधि पनि शुरु भैसकेका कारण यस समयमा प्रत्येक मतदाताले राम्रोसँग मनन गरी आफ्नो प्रतिनिधि कसलाई छनोट गर्ने भन्ने धारणा तयार गर्दछन् ।”
निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था भैसकेको बताउँदै उनले ढुक्कसँग मतदान गर्न आग्रह गरे । मतदाता परिचयपत्र वितरण शुरु भएसँगै मतदान केन्द्रमा परिचयपत्रका लागि सर्वसाधारण लामबद्ध भएका छन् ।

परिचयपत्र वितरणका साथै मतदान व्यवस्थित बनाउन आज बिहानै सर्वदलीय बैठक बसेको जनप्रिय मावि केन्द्रका मतदान अधिकृत महेन्द्रराज कौडालले बताए । सर्वदलीय बैठकपछि मतदाता परिचयपत्र वितरण शुरु गरिएको बताउँदै उनले आजै अपराह्नदेखि बुथ निर्माण गरिने जानकारी दिए । परिचयपत्र लिनका लागि मतदाताहरू उत्साहका साथ सहभागी भैरहेको रत्नचोक वडा कार्यालय केन्द्र(क)का मतदान अधिकृत सूर्यकुममार श्रेष्ठले बताए ।

यस्तै सडक नाटक, सार्वजनिकस्थलमा फ्लेक्स बोर्ड, प्रश्नोत्तर, हाते पुस्तिका, पोष्टर, सात प्रकारका फ्लिप चार्ट, मोबाइल भ्यान, लोक दोहोरीसहितको सांगीतिक कार्यक्रम गरेर पनि मतदाता शिक्षा दिइएको आयुक्त शर्माले बताए । दोस्रो चरणको निर्वाचनका लागि १५ हजार ३४४ मतदान केन्द्र तोकिएको छ ।  रासस