३ असोज, काठमाडौ । सरकारले निर्वाचनको सुरक्षाका लागि आजबाट म्यादी प्रहरी भर्ना प्रक्रिया सुरू गर्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले आज भर्नाका लागि सूचना जारी गरी १५ दिनभित्र भर्ना प्रक्रिया सम्पन्न गरिने प्रहरी प्रवक्ता नवराज सिलवालले राससलाई जानकारी दिए ।

उनका अनुसार १४ अञ्चलबाट करिब ४५ हजार म्यादी प्रहरी भर्नाका लागि आवेदन लिइने र दुई हप्तामा छनौट प्रक्रिया सकेर तालिम सुरु गरिनेछ ।

यता गृह मन्त्रालय उच्चस्रोतले भने भर्नाका लागि सूचना आह्वान गरिने भए पनि कति सङ्ख्या र कुन प्रक्रियाबाट भर्ना गर्ने भन्ने आज मात्र टुङ्गो लाग्ने जनाएको छ ।

दलहरूको आग्रह बमोजिम सरकारले निर्वाचनका लागि ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने हालैको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । रासस