२४ साउन, काठमाडौं ।

गाईजात्रा पर्व आजदेखि शुरु हुँदै छ । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाईजात्रालाई ऐतिहासिक एवम् सांस्कृतिक पर्वका रुपमा लिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्य–मुख्य सहरमा मनाउने गरिन्छ ।

एकवर्षसम्म दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्नो क्षेत्र वरिपरी घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन् । राजा प्रताप मल्लले आफ्ना छोराको सानै उमेरमा निधन भएपछि शोकाकुल रानीलाई यस्तो पीडा भोग्नेहरु धेरै छन् भन्ने देखाउने एक वर्ष भित्र दिवङ्गत सबै संझनामा गाईजात्रा निकाल्ने चलन शुरु गर्नु भएको थियो ।

प्रताप मल्लले आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भन्ने आज्ञा दिएकोले अहिलेसम्म गाईजात्रा पर्व चलेको विश्वास गरिन्छ । गाइजात्राबाट पनि रानी शोक मुक्त हुन नसकेपछि हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु गरेको विश्वास छ । त्यसैअनुसार नेपाली कलाकारले विभिन्न प्रकारका यव्यङ्ग्यात्मक कार्यक्रम गर्ने गरेका छन ।

मल्लकी रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट जात्रा सुरु गरिएकोले काठमाडौंका मानिसका गाईजात्रा अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै लैजाने चलन कायम छ । गाईजात्राकै अवसर पारेर पाटनमा भने सत्ययुगदेखि सङ्कलन गरिएको विश्वास गरिने धान र चामल सार्वजनिक प्रदर्शनमा राख्ने गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौं उपत्यकाका विभिन्न स्थानका अतिरिक्त काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवाकोटको त्रिशूलीबजार, पाल्पा, दोलखा, खोटाड., रामेछाप, भोजपुर, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायतका ठाउँमा पनि मनाउने गरिन्छ ।  गाईजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।