कोमल वली नेपाली सञ्चार जगत देखि सांगितिक जगत सम्म चीर परिचित नाम हो । ‘रेडियो नेपालमा कोमल वलीबाट समाचार सुन्नुहोस’ भनेको नसुन्ने कमै होलान् । त्यति मात्र होइन वर्षेनी तीजको समयमा अनौठा अनौठा गीत ल्याएर चर्चामा आउने नाम पनि हो कोमल वली ।

हुन त महिलाहरुको महान चाड तीज आउन एक महिनाभन्दा बढी समय बाँकी छ । तर तीजका गीतले बजार तताईसकेका छन् । तर यो पटक कोमल वलीको गीतको त्यति चर्चा छैन । न त उनको विवाह नै भएको छ । नेपाली हेडलाइन्सका बोमलाल गिरी र सरोज गौतमले कोमल वलीसँग उनको जवानी, प्रेम प्रसंग र गीत संगीतमा आधारित रहेर गरेको अन्तरंग कुराकानीः

Komal Oli Interview (2)

तिज आउनै लाग्यो । पहिलेका तीजहरुमा कोमल ओलीको निक्कै चर्चा हुन्थ्यो । यो पटक त्यस्तो छैन किन ?
अव हुँदैछ विस्तारै । यो पटक मैले अलि सिरियस गीत गाएकी छु । आधुनिक गीतमा तिज छ । मेरो होइन, अजय अधिकारीको गीत हो । प्रस्ताव आयो अनि मैले गाए ।

केटाः दुःख कै दिन आउने भए टारेर टर्दैन
पानी नखाई मेरैलागि ब्रत बस्नु पर्दैन 
केटीः संस्कति हो सबै बस्छन् बस्नु पर्दछ
मेरो आयू जतिसबै हजुरलाई सर्दछ ।

शब्द तिजलाई सुहाउने जस्तो, मेलोडी चाँही तिजलाई त्यति सुहाउँदो भएन क्यार ?
अहिले धेरै फास्ट बिटका म्यूजिक आएका छन् । यस पटक उहाँले पनि भन्नुभयो, भुकम्प पनि आएकाले दुःखका बेला स्लो मोशनमा गीत गाउने भन्नुभयो । मलाई पनि मन परयो । उहाँले गीतको किताब पनि लेख्नुभएको रहेछ । कोमल ओलीलाई पाएँ त्यो गीत गाउन लगाउने छु भनेर लेखिएको रैछ । गीत हेरे पछि मलाई मन परयो, सरप्राइज पनि भयो अनि गाएँ । हाम्रो संस्कृति अनुसार श्रीमतीहरु बढी जिद्धि र ढिपी स्वभावका हुन्छन् भन्ने श्रीमतीको भूमिका निर्वाह गर्दैछु ।

Komal Oli Interview (1)

रियल लाईफमा श्रीमती चाँहि कहिले बन्ने ?
रिल लाइफमा चाँडै आउँदैछ । हेरौं रिल लाइफमा कत्तिको सुझाउँछ । त्यो हेरेर निर्णय गर्नु पर्ला । किनकी रिल लाइफको राजनीतिक फिल्डमा राजेश हमालसँग त्यति सुट गरेन ।

हरेक वर्षका गीतमा महादेव प्रति निक्कै लगाव देखिन्थ्यो । अहिले के त्यो लगाव छुटेको हो ?
होइन । मैले महादेवसँगै सम्बन्धित गीत गर्ने तयारीमा थिएँ ।

घर भएन शिवजी तिम्रै कारणले
मेरो बर भएन शिवजी तिम्रै कारणले ।

यस्तो गित आउँदै थियो । तर भुकम्पका कारणले त्यति रमाईलो गर्न मन लागेन । किनकी लामो समय भुकम्पमा काम गरियो, फिल्डमा गइयो, आफ्नै आखाले पीडा देखियो । परिवार गुमाएकाहरुसँग कुरा हुँदा यो पटक मैले झकास गीत ननिकालेर अरुलाई मौका दिँदैछु ।

तपाईको शिवजी सँग जोडिएको कहानी लामो छ । के तुल्सिपुरमा देखिएको तन्नेरी जीवनमा चाँहि अझै भेटिएन ?
छैन ।

कहिले आउँछ होला त ?
खै थाहा छैन । हुन्छ नै भन्ने त कहाँ छ र ? त्यो बेला देखेको थिएन तर अहिले त्यो अनुहार पनि अव बिर्सन लागें ।

राजेश हमाललाई यही प्रश्न धेरै पटक धेरैले सोधे । अव तपाई यो प्रश्नबाट कहिले रिटायर्ड हुनुहुन्छ ?
म त कहाँ रिटायर्ड हुन्छु र !

होइन ब्याचलर (अविवाहित) बाट ?
ब्याचलरबाट पनि रिटायर्ड हुने मन छैन । ब्याचलर नै रहने मन छ । जसले जिन्दगीमा विवाह नगरेरै आफ्नो जिन्दगी बाँचेको छ, सायद विवाह गर्ने र नगर्नेको जिन्दगीमा धेरै अन्तर छ ।

Komal Oli Interview (3)

कोमल ओली गीत संगीत होस वा पत्रकारिताका हिसावले पनि सेलिब्रटी हो । राजेश हमालले त ५० वर्ष कटेपछि विवाह गरे भने कोमल ओली प्रति चासो राख्नेहरुलाई तपाई के भन्नुहुन्छ ?
खै थाहै छैन ……. ।

आफ्नो प्रेम प्रसंग बारे भनिदिनुस् न
मान्छेको जीवन, दिनचर्या, काम गर्ने समयलाई उर्जा मिल्छ प्रेमले ।

त्यो प्रेम बैयक्तिक सम्बन्धमा आधारित हो कि बुद्धले भने जस्तो सर्वब्यापी प्रेम ?
जेमा पनि सोच्न सकिन्छ । बैयक्तिक प्रेम पनि हो हार्दिक पनि अनि बुद्धत्व प्रेम पनि हो ।

तपाई तीजमा किन ब्रत बस्नुहुन्छ ?
यत्तिकै । सबै जना बस्छन् त्यसैले । विश्वास छ त्यसैले महादेवका लागि पनि बस्छु ।

महादेवले गर्दा घर भएन, बर भएन भन्ने निष्कर्षमा कसरी आउनुभयो ?
खै त अहिलेसम्म मलाई कोही मनै पर्दैन । किन होला त ? सबैको एउटा जोडि बनाइदिएको हुन्छ भन्छन्, तर मलाई प्रस्ताव गर्ने सबै सबैलाई कता के नमिलेको नमिलेको जस्तो लाग्छ । जीवन कम्प्रमाई हो । त्यसो गर्न सके विवाह गर्न समस्या थिएन । तर सोचे जस्तो हुँदो रहेनछ । आज डार्लिङ भोली डिभोर्स भयो भने त ठिक भएन नि ।

बैशालु केटी हुँदादेखि अहिलेसम्मको प्रेम प्रस्ताव कति पुगे ?
सम्झिनै पर्ला । स्कुलमा पढ्दा मैले मलाई पढाउने सरलाई नै मन पराएको थिए । मेरै पहिलो रोजाई मेरै सर हुनुहुन्थ्यो । त्यति बेला ९÷१० मा पढ्ने केटीसँग नजिक भएर बोलेको, हाँसोको संगै चिया खाएको देख्दा एकदमै इर्श्या लाग्थ्यो ।

पछि जव कलेजमा गयौं, त्यति बेला पनि मैले एक जनालाई मन पराएको थिएँ । तर जसलाई मैले मन पराएको थिए, उसैले मेरो वेष्ट फ्रेण्डलाई होलीको दिन रंग लगाई दिएर ‘आइ लभ यु’ भन्यो । त्यो मैले सुनें, मेरा लागि त्यो कस्तो ट्रेजेडी (वियोगान्त !) त्यो मेरो लागि निक्कै खड्केको दिन थियो । तर पनि उनीहरुको विवाह पनि भएन ।

कलेजमा त राम्री भएर जान्थ्यौं । तर त्यति बेला फोन, फेकबुक भएको भए कति लभ पर्थ्यो होला । लेख्नु भनेकै चिठी मात्र थियो । केटाहरुले प्रेम प्रस्ताव राखेर पठाएका एक बाकस चिठी जम्मा भएका थिए । पछि फालिदिएँ । एक दिन मैले जस्लाई मन पराउँथे त्यही मान्छे घरमै माग्न आए पछि मेरो जिन्दगीमा नयाँ मोड आयो । मेरो बुबाले निक्कै धनी छ, सुनै सुन लगाउन पाउँछ्यौ । सम्पत्तिवालाको बुहारी हुन्छ्यौं । अव तिमी त्यसै गर्छौ कि कोमल ओली भएर बस्छ्यौं ? सोच । भोलीसम्म र जवाफ दिन भन्नुभयो । त्यो दिन मेरो जिन्दगीको निक्कै कठिन मोड थियो । तर मैले उहाँलाई नै भेटेर म तपाईसँग विवाह गर्न सक्दिन भने ।

अहिले पश्चाताप छ कि नै ?
छैन कत्ति पनि ।

के कोमल ओलीलाई जस्ताको तस्तै स्वीकार गर्ने लोग्ने मान्छे अहिलेसम्म नभेटिएकै हो त ?
भेट्न त कति भेटिए कति । झण्डै तीन करोड जनसंख्यामा ८५ लाख जति त केटाहरु नै होलान । तर वेभ लेन्थ मिलेन । अहिले त अलि अलि लभ पर्न थाले पछि फेसबुकको पासवर्ड माग्न थाल्छन् । त्यसैले जिन्दगी चलाउन गाह्रो छ ।

Komal Oli Interview (4)

अझै पनि सोंच्दा सोंच्दै ढिला हुँदैन ?
मलाई त विवाह गर्ने इन्ट्रेष्ट छैन । सायद अव विवाह गर्दिन होला । तर शत प्रतिशत गर्दिन नै त भन्दिन । पछि कस्तो अवस्थामा त मान्छेले विवाह गरेका छन् । के हो के हो टुंगो छैन । तर गर्न पनि सक्छु । कुनै बेला अकस्मात विहे गरें भने फेरी यसो भनेको थियौ नि भन्न चाँहि नआउनु होला ।

कति वर्ष कि हुनुभयो भन्न मिल्छ ?
के हेर्दा २४ वर्षको जस्तो छैन र ? हा हा हा……… (लामो हाँसो)

अव सार्वजनिक विषयमा फर्कौं तीजको गीत अश्लिलता तर्फ उन्मुख हुन थाले, फेरिएको ट्रेण्ड बारे के भन्नुहुन्छ ?
राम्रै कलाकारले त्यसै गरेका छन् । सायद यसका बारेमा उनीहरुले पनि सोंचेकै छन् होला । अनुगमन गर्ने संयन्त्र छैन । संगीत विकास बोर्ड चाहियो भनेर आन्दोलन गरियो । तर केही पनि हुन सकेन । अहिले मिडियाले केही प्रश्न उठाएका छन् । तर गर्नेहरु रोकिएका छैनन् ।

अन्त्यमा के भन्नुहुन्छ ?
मेरो नयाँ एल्बम तरुनी आउँदैछ ।

 'सल्ली रुख बरुनी बरुनी, ए ! केटा हो, मै हुँ हजुर तिम्री तरुनी' ।

मौका मिले सुनिदिनुहोला ।