२ असोज, जनकपुर । लामो अन्योललाई चिर्दै प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा मतदान स्थलमा गएर उनीहरूले मतदान गर्नेछन् । यो निर्वाचनले ८ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि जनप्रतिनिधि छान्नेछन् ।

मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले निर्वाचनमा भाग लिने÷नलिने द्विविधाका कारण अन्य प्रदेशमा दुई चरणमा निर्वाचन भइसक्दा पनि यो प्रदेशमा निर्वाचनको अन्योलता कायमै थियो । यसअघि ३१ वैशाख र १४ असार गरी दुई चरणमा प्रदेश नं १, ३, ४, ५ तथा ६ का स्थानीय तहमा निर्वाचन सम्पन्न भई प्रतिनिधिले काम गर्नसमेत थालिसकेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

निर्वाचनबाट बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका १ सय ३६ स्थानीय तहका लागि ६ हजार ६ सय २७ प्रतिनिधि चुनिनेछन् । मतदानका लागि २६ लाख ६४ हजार ९ सय ५० मतदाता योग्य छन् ।सुरक्षा दृष्टिले संवेदनशील मानिएको यो प्रदेशमा ६० हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको छ ।२ नम्बर प्रदेशका प्रहरी प्रमुख विजयलाल कायस्थ भन्छन्, ‘निर्वाचनको समग्र पक्षलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ ।’

कायस्थका अनुसार सीमा क्षेत्रसहित सबै मतदान केन्द्रको विश्लेषण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको एकीकृत सुरक्षा योजनाअन्तर्गत निर्वाचनमा सुरक्षाकर्मी खटाइएको छ ।मतदान केन्द्रको पहिलो सुरक्षा घेरा नेपाल प्रहरीको हुनेछ भने दोस्रो घेरामा सशस्त्र प्रहरी राखिनेछ । तेस्रो घेराका रूपमा सेनाले गस्ती गर्नेछ ।

मतदान हुने सबै जिल्लाको सुरक्षा विश्लेषण गरेका प्रहरी प्रमुख कायस्थले भने, ‘सुरक्षाकर्मी परिचालनसँगै हामीले १ नम्बर प्रदेशको विराटनगर, ३ नम्बरको हेटैाँडा र काठमाडौंका सुरक्षाकर्मीलाई पनि उच्च सतर्कतामा राखेका छौं ।’ बारा, जनकपुर र सिरहा सेनाको तीनवटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।

निर्वाचन बिथोल्ने आकलन गरिएका सिके राउत, विप्लव माओवादी र जयकृष्ण गोइत समूहका केही कार्यकर्तालाई स्थानीय प्रशासनले पक्राउ गरेको छ । निर्वाचनविरुद्ध रहेको भन्दै प्रहरीले सप्तरी, सिरहा, धनुषाका विभिन्न भागबाट केही मानिसलाई पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाइएको छ ।

प्रदेश प्रहरी प्रमुख कायस्थले आठ जिल्लाका विभिन्न ठाउँबाट सन्दिग्ध मानिस पक्राउ गरिएको बताए । तर, उनले पक्राउ परेकाको संख्या भने सार्वजनिक गरेनन् ।निर्वाचनलाई लक्ष्य गरी बन्द गरिएको नेपाल-भारत सीमामा तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । सबै जिल्लामा कुकुरका दुई÷दुई समूह खटाइएको छ ।

एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २१ सय ६६ मतदानस्थल, ३५ सय ७८ मतदान केन्द्र तोकिएको छ । निर्वाचनका लागि ३१ हजार ५ सय कर्मचारी खटिएका छन् ।जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झाका अनुसार मतपेटिका र मतपत्रसहित कर्मचारी मतदानस्थल र मतदान केन्द्रमा पुगिसकेको जानकारी दिइन् ।

विदेशीलाई पर्यवेक्षण
दुई नम्बर प्रदेशको निर्वाचन पर्यवेक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोगसहित केही विदेशी प्रतिनिधिले जनकपुर, वीरगन्जसहितका ठाउँको पर्यवेक्षण गर्ने भएका छन् ।

दुई नम्बर प्रदेशका प्रहरी प्रमुख कायस्थले जपानी दूतावास, ब्रिटिस दूतावाससहित विदेशी नियोगका प्रतिनिधि मधेसको निर्वाचन पर्यवेक्षणका लागि आएको जानकारी दिए ।

यसअघि दुई चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विदेशी नियोगलाई पर्यवेक्षणको अनुमति दिइएको थिएन ।