laxmi१७ कार्तिक, काठमाडौ । हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपञ्चकको तेस्रो दिन आज देशभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ ।

मूलद्धारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातोमाटा तथा गोबरले पोतेर चामलको पिठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बालेर लक्ष्मीलाई घर भित्राउने तयारी बिहानै देखी घरघरमा सुरू भइसकेको छ । आजको दिनलाई सुखरात्री पनि भन्ने परम्परा छ । आज घरको सबैतिर सफा गरी दैलो, सँघार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने जनविश्वास अनुसार सकेसम्म झ्याल, ढोका, भर्याङलगायतका स्थानमा दियो बाल्ने गरिन्छ भने शहरबजारमा लक्ष्मीलाई खुसी बनाउन बिजुलीबाट बल्ने विभिन्न रंग र झलिमिली बत्ति बाल्ने प्रचलन बढ्दै गएको छ । 

बत्ति बालिसकेपछी लक्ष्मीको थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको पूजा गरिन्छ । आजको दिनलाई सुख रात्री समेत भनिन्छ ।

लक्ष्मीको पुजा आज राती गरिन्छ भने आज बिहान लक्ष्मीको रूपमा मानिदै आएकी गाईलाई पूजा गरिँदैछ । गाईलाई विभिन्न परिकार बनाई खुवाउने तथा विभिन्न रंगहरूले सिंगार्ने गरिन्छ ।

युवा युवती तथा साना केटाकेटीहरु समूह बनाई घरघरमा देउसी र भैलो खेल्न पनि हिड्ने गर्छन् ।