१४ वैशाख, काठमाडौं ।

इङलिस प्रिमियर लिगमा आज महत्वपूर्ण म्यानचेस्टर डर्बीको खेल हुँदैछ । नेपाली समय अनुसार आज राती साढे १२ बजे म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच भिडन्त हुन लागेको हो ।

अब लिगमा ६ खेल मात्र बाँकी हुँदा लिगमा सिटी ६४ अंकसहित चौथो र युनाइटेड ६३ अंकसहित पाँचौ स्थानमा भएकोले पनि आजको खेल एकदमै महत्वपूर्ण छ । किनकी शीर्ष चारभित्र अटाउने टिमले च्याम्पियन्स लिग खेल्न पाउने भएकोले पनि आज जित्ने टिमले च्याम्पियन्स लिग खेल्ने सम्भावना धेरै छ ।

यस अघि बार्सिलोनामा रहेका पेप ग्वार्डिओला र रियल म्याड्रिडमा रहेका जोजे माउरिन्हो क्रमशः सिटी र युनाइटेडमा रहेकोले पनि यसपटकका भिडन्तलाई झन् महत्वपूर्ण मानिएको छ । यस अघि दिग्गज क्लबलाई नेतृत्व दिएको हुनाले पनि आजको खेलमा पनि निक्कै प्रतिस्पर्धा हुने मानिएको छ। यस अघिको यसै सिजनको लिगमा सिटीले युनाइटेडलाई २–१ ले हराएको थियो ।

यी दुईबीचको खेलमा ७२ खेल युनाइटेडले जित्दा सिटीले ५० खेल खेल जितेको छ । ५१ खेल बराबरीमा टुंगिएको छ । युनाइटेडका प्रशिक्षकले माउरिन्होले च्याम्पियन्स लिग खेल्नु आफ्नो सपना रहेको बताएका छन् ।