२७ पुस, लास्कार घा (अफगानिस्तान) । अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लास्कार घा मङ्गलबार भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सो विस्फोटमा परी विस्फोटनकारी स्वयम् र अन्य ६ व्यक्तिको मृत्यु भएको प्रान्तीय उपप्रहरी प्रमुख गुल हाई खानले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । खानका अनुसार यस आक्रमणमा परी अन्य दुई व्यक्ति घाइते भएका छन् ।

यस घटनाको विस्तृत विवरण नदिइकन अनुसनधान जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रान्तीय प्रहरी प्रमुखकाअनुसार यस आक्रमण परेका सबै सर्वसाधारण नागरिक रहेका छन् ।

यद्यपि अस्पताल स्रोतले भने यस आक्रमणमा परी नौ व्यक्ति घाइते भएका र उनीहरुको उपचार भइरहेको जानकारी दिएको छ ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा नलिएको, तर यस क्षेत्रमा तालिवानी आतङ्ककारीको समूहको बलियो पकड रहेको हुनाले यस आक्रमणमा पनि यिनको नै हात रेहेको दाबी प्रहरीको रहेको छ । रासस/सिन्ह्वा