१३ मंसिर, पथरी (मोरङ) ।

सङ्घीय गठबन्धनका नेताले मधेसको आन्दोलन हिमाल र पहाडका सबै भागमा पु-याउने बताएका छन् ।

आज विराटनगरमा आयोजित जन प्रदर्शनलाई सम्बोधन गर्दै सङ्घीय गठबन्धनका नेताले मधेसको आन्दोलन जायज भएकाले आन्दोलनलाई हिमाल र पहाडका सबै भागमा पु-याउने उनीहरुले बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको मधेसको आन्दोलन अधिकारको आन्दोलन भएकाले आन्दोलनबाट कोही तर्किने अवस्था नरहेको उल्लेख गरे । उनले सबै निकायमा समान अवसर सिर्जना गर्नु राज्यको दायित्व भएकाले मधेसी जनतालाई हेर्ने दृष्टि परिवर्तन अझै हुन नसकेको बताए ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संबिधानसभाबाट जारी भएको संविधानले मधेसीको अधिकार सुरक्षित गर्न नसकेकाले राज्यसत्ताको हरेक अङ्गमा मधेसीको आधा सहभागिता खोजेको बताए । उनले तराईको आन्दोलनलाई मधेसी–पहाडीको आन्दोलनको रुपमा गलत प्रचार गरिएको आरोप पनि लगाएका छन ।

तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले वार्ताको नाममा सरकारले आन्दोलनरत पक्षलाई थकाउन खोजेको टिप्पणी गरे ।

कार्यक्रममा बोल्दै तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले विभिन्न समयमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नहुँदासम्म आन्दोलन नरोकिने बताए ।