बासु सत्याल
जम्बुजिरा, पोर्चुगल ।

कृषि क्षेत्रमा काम गर्न चाहने नेपालीहरुका लागि युरोपीयन मुलुक पोर्चुगल राम्रो गन्तब्य मुलुक हो । त्यहाँ झण्डै ७/८ हजारको हाराहारीमा नेपालीले कृषि फार्महरुमा काम गरिरहेका छन् ।

भाषाको समस्या, अरु शिप नभएका र अन्य सम्पर्क माध्याम नभएकाहरुका लागि पोर्चुगलका अन्य ठाउँमाभन्दा कृषि फार्ममा काम पाउन सजिलो मानिथ्यो । अन्य क्षेत्रमाभन्दा काम गर्न सके कमाई पनि आकर्षक हुने र थुप्रै नेपालीहरुले समेत कम्पनी सञ्चालन गरेकाले नेपालीलाई झनै सहज र रोजाईको क्षेत्र बन्दै थियो ।

केही समय पहिलेसम्म काम थोरै र कामदार धेरै भएकाले काम पाउन प्रतिष्पर्धा नै थियो । तर अहिले त्यहाँको समय र परिस्थिती बदलिएको छ । काम धेरै छ कामदार थोरै छन् ।

समस्याका कारण
सन् २०१५ देखि पोर्चुगलको अध्यागमनले आप्रबासीहरुलाई बितरण गर्ने आस्थाई बसोबासको अनुमती पेपर दिन कडाई गरेपछि आप्रबासीहरुमा पेपर नबन्ने भन्ने चिन्ताले गाजेको थियो ।

यता कृषि क्षेत्रमा स्वेदेशी अनि युरोपियन युनियनको लगानीमा ब्यापक फलफूल उत्पादन फर्महरु खुल्ने क्रम जारी रह्यो । तर सरकारलाई नियमित कर तिर्दा पनि बेलैमा पेपर नबन्ने, र अनेक बहानामा झुलाई रहने अध्यागमनको प्रबृतिले धेरै नेपाली र अन्य मुलुकका कामदार निरास बन्दै थिए ।

जसका कारण उनीहरु पोर्चुगल छोडेर अन्यत्र जान बाध्य भए । त्यो क्रम केहीसमय अघिसम्म पनि रोकिएको छैन भने नेपाल लगायतका मुलुकबाट ठूलो संख्यामा कामदार नभएकाले पनि समस्या बढ्दैछ ।

जसका अहिले आएर कृषि क्षेत्रमा कामदारको चरम अभाव भएको छ । यतिबेला बेला ऐसेलु, ब्लुवेरी, स्ट्रवरी, गोलभेडा, सुन्तला फर्ममा कामदारको निक्कै अभाब भएको छ । पोर्चुगलको दक्षिण क्षेत्रका ओदिमेरा, साओटोतोनियो, जम्बुजेइरा, फारो, ताभिरा लगायतका क्षेत्रमा ठूलो संख्यामा फलफूल फार्म रहेका छन । तर कामदारको चरम अभाव छ । जसका कारण राम्रो पैसा दिएर पनि काम्दार नपाउँदा करोडौ मूल्य पर्ने फलफूल कुहेर नष्ट भएको छ ।

यसले गर्दा कृषि क्षेत्रमा कामदार प्रदायक नेपाली कम्पनीका संचालकहरुबीच पनि कसले बढी पैसा दिएर कामदारलाई काममा लैजाने भन्ने होड्बाजी नै चलेको छ । कामदारको माग उच्च रहेका बेला प्रतिष्पर्धा हुन्छ नै ।

तर गलत अनि हुँदै नहुने आश्वाशन दिदै कामदार लैजाने प्रतिष्प्रर्धामा पनि नेपालीहरु नै अगाडि देखिन्थे । त्यो अहिले केहीहदसम्म कम भएको देखिन्छ तर निमिट्यान्नै भएको छैन ।

कृषि क्षेत्रमा अहिले करिव एक दर्जन नेपाली सप्लाई कम्पनीहरु काम गरिरहेका छन । ग्र्याब जब, पिसफुल प्लानेट, अटलान्टिक अपरच्युनिटी लगायतका कम्पनीहरुमा हजारौको संख्यामा नेपाली लगायत अन्य देशका काम्दारहरु काम गर्छन ।

यतिबेला त्यहाँ कम्ती मा ८०० देखी २००० युरोसम्मा कमाई हुने कामदारहरु बताउँछन् । अन्य क्षेत्रकोभन्दा कृषिमा राम्रो कमाई रहेको अनि यो क्षेत्रमा सुनिने गरेका नकरात्मक कुराहरु पनि बिस्तारै सेलाउदै गएको पिसफुल प्लानेटका प्रबिण गिरीले बताए ।

गिरीका अनुसार मराभिला, हुवेल जस्ता अन्तराष्ट्रिय फर्महरुलाई एजेन्सीले कामदार उपलब्ध गराउन नसके पछी डाईरेक्त जब कन्ट्रयाक्टमा राम्रो तलव दिएर कामदार राख्ने गरेकाले पनि कामदारको अभाव झन बढ्दै गएको छ ।

यसले उपलब्ध कामदारलाई त फाइदा नै भएको छ तर कन्ट्रयाक्टमा काम लिएर पनि लक्ष्य पूरा गर्न नसक्दा नेपाली सप्लाई कम्पनीहरु भने नोक्सान व्यहोरिरहेका छन् । यो क्रम अझै बढ्ने देखिन्छ ।