९ असार, काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनको पाँच दिनअघि भएको आयोगका सचिवको सरुवालाई स्वभाविक रुपमा लिनुपर्ने बताएका छन् ।

आचार संहिता जारी भएपछि अन्य सरकारी निकायलाई सरुवा, बढुवा मात्र नभएर नियुक्तिसमेत रोकेका प्रमुख आयुक्त यादवले मतदान हुनु पाँच दिनअघि भएको सरुवालाई भने स्वभाविक रुपमा लिनु पर्ने बताए ।

आयोगका सचिव गोपिनाथ मैनालीको हिजो प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएको थियो । उनले मैनालीको सरुवाले असार १४ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई कुनै असर नपर्ने दावी गरे ।

‘०६३ सालदेखि अहिलेसम्म आयोगमा १३ वटा सचिवहरुको सरुवा भोगेको छु, यादवले भने, ‘त्यसैले यो निर्वाचन ऐतिहासिक रुपमा सफल हुन्छ, कर्मचारीको सरुवाले निर्वाचनलाई कुनै किसिमको प्रभाव पार्दैन् ।’

रिपोटर्स क्लबमा भएको कार्यक्तममा प्रमुख आयुक्त यादवले सचिव सरुवा आयोगले नभएर नेपाल सरकारले गर्ने भन्दै निर्वाचन आयोगको संलग्नता नरहेको उल्लेख गरे ।

उनले सचिवको सरुवा भएपनि निर्वाचनका लागि आवश्यक काम आयोगले बढाईरहेको बताए । यादवले निर्वाचनको सम्पूर्ण तयारी भइसकेको भन्दै सुक्ष्मरुपले आचारसंहिताको अनुगमन समेत भईरहेको बताए ।