२ साउन, काठमाडौं । नेकपा एमालेले मतदाता नामावली संकलनलाई सहज र सुविधाजनक ढंगले बनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

पार्टीको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आज आयोगका कार्यालय पुगेका एमाले नेताहरुले प्रमुख आयुक्त अयोधीप्रसाद यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपयुक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्न माग गरिएको छ ।

एमालेले निर्वाचन भइसकेका जिल्लामा जिल्ला समन्वय समिति गठनमा देखिएको अन्यौलता र ढिलाइ अन्त्य गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग गनका लागि सकारात्मक पहल गर्न आयोगको ध्यानाकर्षण गारएको छ ।

जवाफमा प्रमुख निर्वाचन आयुक्त यादवले आवश्यक गृहकार्य अघि बढाउने बताएका एमाले संसदीय दलका उपनेता नेम्वाङले जानकारी दिए ।