२९ भदौ, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारका लागि चुनावी खर्चको १४ लाख तोक्ने प्रस्ताव अघि सारेको छ ।

आयोगले आज प्रमुख दलका नेताहरुलाई बोलाएर चुनाव खर्चबारे गरेको छलफलमा यस्तो प्रस्ताव गरिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रतिमतदातासँग हुने खर्चलाई बजार मूल्यसँग समायोजन र मुद्रा स्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको बताए ।

राजनीतिक दलहरुकै सुझावको आधारमा बस्तुनिष्ठ निर्वाचन खर्च निर्धारण गर्न सकिने भन्दै उनले निर्वाचन क्षेत्रको सीमा बढेकोले पनि निर्वाचन खर्च केही बढाइएको बताए । छलफलमा दलहरुले व्यवहारिक र स्वभाविक हुने गरी निर्वाचन खर्च निर्धारण गर्न सुझाव दिए ।

निर्वाचन आयोगले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० खर्च गर्न पाउने व्यवस्था थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अनुसार निर्वाचन आयोगले निर्वाचनमा हुने खर्चको सीमा तोक्न पाउने व्यवस्था छ ।