एजेन्सी । भारतीय क्रिकेट टिमका बलर आशीष नेहराले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार उनले आगामी नोभेम्बर १ तारिखमा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याच खेल्नेछन् । न्यूजील्याण्डविरुद्धको टि ट्वान्टी म्याच उनको घरेलु मैदान फिरोजशाहा कोटला दिल्लीमा हुनेछ ।

आफ्नो सन्यासका बारेमा नेहराले हिजो टिमका कप्तान बिराट कोहली र टिम व्यवस्थापकसँग कुराकानी गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । उनले अष्ट्रेलिया विरुद्धको अन्तिम टि ट्वान्टी सकेर सन्यास घोषणा गर्ने तयारी गरेपनि पछि घरेलु मैदानमै खेलेर सन्यास लिने मन बनाएका हुन् ।

३८ वर्षीय नेहराले सन् १९९९ मा श्रीलंका विरुद्धको टेष्ट सिरिजबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । नेहराले अहिलेसम्म खेलेका १ सय २० अन्तर्राष्ट्रिय एकदिवसीय म्याचमा १ सय ५७ र २६ टि ट्वान्टी म्याचमा ३४ विकेट लिएका छन् ।