१५ वैशाख,  काठमाडौं ।

समकालीन विश्वमा फुटबलका राजाको रुपमा लिइने नाम हुन् अर्जेन्टिनाका लियोनेल मेसी । उनको खेल्ने शैली, रेकर्डको तुलना कोही कसैसँग नहुने भन्दै बारम्बार संचारमाध्यममा अनेक टिप्पणी आउँछन् । केहीले पोर्चुगिज रियल म्याड्रिडबाट खेल्ने क्रिश्चियानो रोनाल्डोलाई मेसीसँग तुलना गर्छन् तर, सबै आँकडा र मैदानमा देखाउने प्रदर्शनले मेसी नै उचो भएको टिप्पणी फेरि पनि संचारमाध्यम र फुटबल पण्डितहरुले गर्ने गर्छन् ।

यिनै मेसी हुन् जो विपक्षी खेलाडीलाई हायलकायल पार्न माहिर मानिन्छन् । केही दिन अघि विश्वकै चर्चित इएल क्लासिकोको भिडन्तमा उनै मेसीले अन्तिम समयमा गोल गरेपछि बार्सिलोनाले रियल म्याड्रिडलाई उसकै मैदानमा विक्षिप्त बनाएको थियो । मेसीले गोल अन्तिम समयम गरेको सानदार गोलको चर्चा अझै पनि सेलाएको छैन ।

यिनै विश्वचर्चित र समर्थकहरुले सम्मानपूर्वक लिने मेसीको डुब्लिकेट इरानमा भेटिएपछि विश्वभरका अनलाइन र सामाजिक संजालम अहिले चर्चा चुलिएको छ । रिजा पेरेस्टेजको मेसीको जस्तै अन्दाजका तस्वीर अहिले न्यूज पोर्टलदेखि सामाजिक संजालमा भाइरल बनेका छन् ।

इरानका मिडियाले मेसीको अन्दाजका रिजाको तस्विर बाहिर ल्याएपछि उनको चर्चा अहिले चुलिएको हो । अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा झट्ट हेर्दा उनी मेसीभन्दा फरक लाग्दैनन् । निर्दोष मुस्कान, दाह्री अनि अनुहारले उनी मेसीभन्दा फरक छैनन् । यी रिजा इरानमा सामान्य परिवारका व्यक्ति हुन् ।