एजेन्सी । इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ । पश्चिम इरानको केरमान्साह प्रान्तमा मात्रै २ सय १४ जनाको मृत्यु भएको छ ।

इराकमा अहिलेसम्म ७ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । भूकम्पले धेरै घरहरु भत्काएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको उद्दारमा खटिएका अधिकारीहरुलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । ५ हजार ६ सय ६० जना घाइते भएका छन् । ७० हजार मानिस घरवारविहीन भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

भूकम्पका कारण बाटोहरु भत्किएका र पहिरो गएका कारण उद्दारमा कठिनाई भइरहेको समाचारमा उल्लेख छ । स्थानीय समय अनुसार हिजो बेलुकी ९ बजेर १८ मिनेटमा इराक र इरानको सिमावर्ती क्षेत्र हलब्जा केन्द्र भएर ७ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का पाकिस्तान, लेबनान, टर्की, इजरायल र कुवेतमा समेत महशुस गरिएको थियो ।