Paras Khadka१७ मंसीर, काठमाडौ । क्रिकेटको लोकप्रिय वेवसाइट इएसपिएनक्रिकइन्फोले घोषणा गरेको विश्वकप ट्वान्टी-२० छनोट खेलका उत्कृष्ट ११ खेलाडीको सूचीमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का पनि परेका छन् ।

अमेरिकी पत्रकार पिटर डेलोले तयार गरेको सूचीमा पारस खड्का र आयरल्याण्डका पाउल सिटर दोस्रो पटक उत्कृष्ट ११ को सूचीमा परेका छन् । अघिल्लो वर्ष नेपालबाट पारस खड्का र शक्ति गौचन उत्कृष्ट ११ भित्र परेका थिए । तर, यो वर्ष पारसले मात्र उत्कृष्ट ११ मा आफ्नो स्थान बनाउन सफल भएका छन् । राम्रो प्रदर्शन गर्न नसकेका शक्ति यसपटक उक्त सूचीमा पर्न सकेनन् ।

युएईमा सम्पन्न विश्व ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगितामा पारसले २ सय ३२ बनाउनुका साथै ११ विकेट लिएका थिए । केन्यालाई पराजित गर्ने क्रममा पारस ५४ रन जोडेका थिए भने उनले डेनमार्क विरूद्धको खेलमा पनि अविजित ५४ रन जोडेका थिए ।

यस वर्षको उत्कृष्ट ११ को सूचीमा नेदरल्यान्डसका तीन खेलाडी वेसलिए बारिसी, मुडासार बुखरी र अहसन मलिक सहित टोनी युरा (पपुवा न्युगिनी), पाउल (आयरल्यान्ड), म्याक्स सोरिनसेन (आयरल्यान्ड), माट माचन स्कटल्यान्ड), खुराम खान (युएई), समिउल्लाह सेनवारी (अफगानिस्तान) र मुनिर दार (हङकङ) परेका छन् ।