४ जेठ, भद्रपुर ।

झापाको पृथ्वीनगर–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल किचकबधमा पुरातत्व विभागबाट पछिल्लो पटक गरेको उत्खननबाट दुई हजार वर्ष पुरानो स्वस्तिक चिह्न भेटिएको पुरातत्वविद् उद्धव आचार्यले बताए ।

वैशाख १२ गतेदेखि गरिएको उत्खननमा ६० सेन्टिमिटर चौडाइ भएको ४० मिटर लामो पर्खाल, विशेष प्रयोजनमा प्रयोग हुने छ मिटर लामो ठाडो इँटाको पर्खाल र एक सुरक्षा पोस्ट पनि फेला परेकोे पुरातत्वविद् आचार्यले जानकारी दिए ।

पछिल्लो उत्खनन सातौँ हो भने उत्खनन गर्नुभन्दा पहिले एक पटक परीक्षण पनि गरिएको थियो । सो ऐतिहासिक क्षेत्रको क्षेत्रफल १० बिगाहा जग्गा रहेको छ भने त्यसको सुरक्षाका लागि अस्थायी प्रहरी चौकी पनि स्थापना भएको छ ।

यसअघि गरिएको सो उत्खननमा पुराना संरचनाका १७ वटा खाडल बनाएर उत्खनन गर्ने कार्य थालनी गरेको हो । प्रारम्भमा २०५८ सालमा सुर गरिएको उत्खननबाट वाण, प्रशासकीय भवन, डुङ्गाका थाल, कचौरा, माटोका मूर्ति, माटाका भाँडा वर्गन र तवेला फेला परिसकेको पुरातत्वविद् आचार्यले बताए ।

धार्मिकस्थलको रुपमा चिनिएको किचकबध पाण्डवहरुले गुप्तबास बसेको बेलामा यस स्थानमा विराट राजाका साला किचकलाई मारेको किम्बदन्ती छ । फेला परेका संरचना २२०० वर्षदेखि २००० वर्ष पुराना भएको र तत्काल उच्खनन गरिएको स्थानदेखि केही पूर्वमा सुंगकुसन कालका भन्दा पनि अगाडि ध्वस्त संरचना फेला पर्ने अनुमान गरिएको उत्खननविद् आचार्यले बताए ।

बजेटको अभावमा उत्खनन कार्य ढिलो भइरहेको भन्दै पुरातत्वविद् आचार्यले सरकारले आवश्यक बजेट विनियोजन भएमा दुई वर्षभित्रमा उत्खननका सबै कार्य पूरा हुने बताए । रासस