एजेन्सी । दक्षिण कोरियाले उत्तर कोरियासँग सैन्य वार्ताको प्रस्ताव गरेको छ । उत्तरले लामो दुरीको मिसाइल परीक्षण गरेको केही दिनमै दक्षिण कोरियाले यस्तो प्रस्ताव राखेको हो ।

यदि उत्तर कोरिया तयार भए दुई देशबीच सन् २०१५ पछि पहिलोपटक उच्चस्तरीय वार्ता हुनेछ । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले वार्ता जुलाई २१ तारिखका लागि प्रस्ताव गरिएको र उत्तर कोरियाबाट सकारात्मक जवाफको अपेक्षा गरेको बताए । उनले उत्तरसँगको सम्बन्ध दीर्घकालीन रुपमा सुमधुर बनाउन चाहेको संकेत गरेका अन्तर्राष्ट्रिय संचारमाध्यामको भनाई छ ।

हालै बर्लिनमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति मुनले उत्तरसँगको वार्ता पहिला भन्दा अहिले झन् आवश्यक रहेको बताएका थिए । वार्ता र संवाद उत्तर कोरियाको परमाणु कार्यक्रमको अन्त्य चाहनेका लागि झन् महत्वपूर्ण हुने उनको भनाई थियो । वार्ताको मुख्य उद्देश्य दुइ देशबीचको सैन्य टकराव कम गर्न महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

उत्तर कोरियाले भने संयुक्त राष्ट्रसंघको दबाबका बावजुत लगातार मिसाइल परीक्षण गरिरहेको छ । केही दिन अघि मात्रै उसले अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको थियो ।