२७ वैशाख, एजेन्सी।

चीन र उत्तर कोरियाको बीचमा रहेको खाडी क्षेत्रमा पिपुल्स लिवरेसन आर्मीले मिसाइल लञ्च गरेको छ। एल्लो सागर अन्तर्गत बोहाइ सागरमा चिनियाँ सेनाको ‘रकेट फोर्स’ले आफ्नो शक्ति प्रदर्शन गरको हो।

चिनियाँ सेनाले परीक्षण पश्चात ‘अपेक्षित परिणाम हासिल गरेको’ बताएको छ।

यो मिसाइल परीक्षण उत्तर कोरियालाई चेतावनी थियो वा अमेरिकालाई थियो सो भने स्पष्ट नभएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ।

बेइजिङ र प्योङयाङ्ग नजिकका सहयोगी रहँदै आएका छन्। तर अमेरिकी राष्ट्रपतिले चिनियाँ राष्ट्रपति सि जिन पिङलाई उत्तर कोरियामाथि दबाब बनाउन दबाब दिएका छन्।

चीनले उत्तर कोरिया र अमेरिकालाई परमाणु युद्धको संघारबाट पछि हट्न आह्वान गरिरहेको छ।

यदि आफ्नो देशको स्थिरतामाथी खतरा उत्पन्न भए आक्रमण गर्नेसम्म चीनले उत्तर करियालाई चेतावनी समेत दिइसकेको छ।

साथै उत्तर कोरियाको सीमा नजिक तैथान गरिएका चिनियाँ सेना उत्तर कोरियाली शब्दावली सिक्दै छन्। यदि युद्ध भइहाले ‘स्थिर बस, अन्यथा गोली हान्छु’ जस्ता शब्दावली चिनियाँ सेनाले कण्ठस्थ गर्दै छन्।

साथै दक्षिण कोरियामा अमेरिकाले तैनाथ गरेको मिसाइल प्रणालीको चीन विरोध गर्दैछ।

दक्षिण कोरियामा तैनाथ गरिएको अमेरिकाको १ बिलियन डलरको थाड मिसाइल प्रतिरक्षा प्रणाली विरुद्ध चीनले उत्रेको हो। यो मिसाइल प्रतिरक्षा प्रणालीको शक्तिशाली राडारले आफ्नो देशमा समेत गुप्तचरी गर्नेसक्ने सम्भावना तर्फ चीन ससंकित छ। यो मिसाइल प्रणाली अमेरिकाले उत्तर कोरियाको मिसाइलबाट सुरक्षा गर्न दक्षिण कोरियामा तैनाथ गरेको बताउँदै आएको छ।

कोरियाली प्रायद्विपमा चौतर्फी तनाव बढेको समयमा चीनले गरेको मिसाइल परीक्षणबारे चीनको सरकारी मिडिया सिन्हुवाले ‘बोहाइ सागरमा चिनियाँ रकेट फोर्सले नयाँ प्रकारको मिसाइल परीक्षण गरेको’ बताएको छ।

राष्ट्रिय सुरक्षामा देखिएका खतरा ह्याण्डल गर्न वार्षिक सैन्य ट्रेनिङ योजना अनुसार नै यो युद्ध अभ्यास गरिएको चीनले बताएको छ।