६ भदौ ,एजेन्सी ।

उत्तर कोरियाले अमेरिकालाई आगोमा घिउ हालेर उक्साउने काम नगर्न चेतावनी दिएको छ । सोमबारदेखि सुरु भएको दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासको निन्दा गर्दै उत्तर कोरियाले भनेको छ, ‘यो आगोमा घिउ हाल्ने काम हो ।’

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासले क्षेत्रीय स्थिरता खलबल्याउने टिप्पणी गरेको छ । उसले अभ्यास भन्दापनि आफुमाथिको आक्रमणको तयारीका रुपमा बिश्लेषण गरेको छ ।

उत्तर कोरियाको सरकारी अखबार नोडोंग सिनमुनले आईतबार आफ्नो सम्पदाकीयमा अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासले कोरियाली प्रायद्धीपको स्थिती बिग्रन सक्ने भन्दै अनियन्त्रित परमाणु आक्रमण गर्ने चेतावनी दिएको छ ।

तर दक्षिण कोरियाको सरकारी समाचार संस्था योनहापले भने राष्ट्रपति मुन जे इनको भनाई उदृत गर्दै संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरियाले उग्रता देखाउन जरुरी नरहेको उल्लेख गरेको छ ।

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको बिरोधका बीच हरेक बर्ष दुई चरणमा सैन्य अभ्यास गर्दै आएका छन् ।

सैन्य अभ्यासमा ठुलो संख्यामा सैनिक र हातहतियारको प्रयोग हुन्छ । बसन्त ऋतु र शरद ऋतुमा यी दुई मुलुकले जमिन, समुन्द्र हवाई सैन्य अभ्यास गर्दछन् । यस्तै चरमपन्थी र रसायनिक आक्रमणको पनि अभ्यास हुन्छ ।

जुलाईमा चीन र रुसले उत्तर कोरियाको मिसाईल परिक्षण रोक्न अमेरिका र दक्षिण कोरियाले पनि यो सैन्य अभ्यास स्थगन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

तर अमेरिकी जोईन्ट चिफ अफ स्टाफका प्रमुख जोसेफ डनफर्डले गएको हप्ता सैन्य अभ्यासलाई कुनै सर्तका रुपमा रोक्न नसकिने प्रतिक्रिया दिए ।

१० दिनसम्म चल्ने सैन्य अभ्यासमा अमेरिकाका १७ हजार र दक्षिण कोरियाका ५० हजार सैनिक सहभागि हुनेछन् ।

हालै उत्तर कोरियाले प्रशान्त महासागरको टापुमा पर्ने अमेरिकी भुभाग गुआममा मिसाईल आक्रमण गर्ने धम्कि दिएपछि अमेरिका र उत्तर कोरियाबिच वाकयुद्ध चर्किएको छ ।

केहि बिश्लेषकहरुले यस्तो संवेदशील समयमा अमेरिकाले उत्तर कोरियालाई चिढ्याउन नहुने चेतावनी दिएका छन् ।