३० भदौ, एजेन्सी ।

उत्तर कोरियाले फेरी अर्को मिाइल हानेको छ । उत्तर कोरियाको राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल हानिएको हो ।

जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

मिसाइल जापानको होकाइदो द्वीपको माथिबाट गएको थियो । दक्षिण कोरिया र जापान दुबैले उत्तर कोरियाले मिसाइल हानेको पुष्टी गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उक्त मिसाइल स्थानीय समय अनुार बिहान ६ बजेर ५७ मिनेटमा छोडिएको थियो र ७ बजेर ६ मिनेटमा जापानको होकाइदो द्धीपमा खसेको थियो ।

उत्तरले मिसाइल परिक्षण गरेपछि दक्षिण कोरियाले राष्ट्रिय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको छ । जापानले पनि आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ । मिसाइल खसेपछि बिहान होकाइदोमा आपतकालिन साइरन बजेको थियो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गर्ने बताउँदै आएको छ ।

सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानून पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी मङ्गलबार लगाइएको नाकाबन्दीको विरोधमा झनै कडा रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिएको छ ।

अमेरिकाको प्रस्तावमा उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले दुष्ट कामको संज्ञा दिएको थियो ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सोमबार सर्वसम्मत निर्णय भएपछि उसले भनेको थियो– ‘यसका विरुद्धमा अमेरिकाले अहिलेसम्मकै ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

सोमबार चीन र रुसको पनि सहमति र उक्त परिषद् वैठकको सर्वसम्मतिमा उक्त कानुन पारित गरिएको हो । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएकाले उसका विरुद्धमा यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ ।

उत्तरले गएको हप्ता मात्र एक शक्तिशाली हाइड्रोजन बम नै परीक्षण गरेको थियो । त्यसका विरुद्धमा पछिल्लो नाकाबन्दी आएको हो । त्यसकै जवाफ स्वरुप आज पनि जापानलाई लक्षित गर्दै उसले मिसाइल छाडेको छ ।