१५ असोज, एजेन्सी । अमेरिकाले उत्तर कोरियासँग आफूहरु सिधा सम्पर्कमा रहेको खुलासा गरेको छ । चीन भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसले यस्तो खुलासा गरेका हुन ।

वासिङ्टन प्योङयाङसँगको औपचारिक वार्ताको संभावना खोजिरहेको उनको भनाई थियो । ‘हामीले प्योङयाङसँग धेरै पटक कुराकानी गरिसकेका छौं, हाम्रो स्थिती पुरै अन्यौल छैन ।’ टिलरसनले भने । पछिल्लो केही महिना यता उत्तर कोरिया र अमेरिकाबीच वाकयुद्ध चर्किएको छ । तर दुई देशबीच आन्तरिक रुपमा कुराकानी भइरहेको भन्ने विषयमा विश्वभरका नागरिक जानकार थिएनन् ।

विदेशमन्त्री टिलरसन अहिले चीनमा रहेको र राष्ट्रपति सि जिन पिङसँग भेट्ने वीवीसीले जनाएको छ । भेटका क्रममा टिलरसनले उत्तर कोरियासँगको व्यापारिक सम्बन्ध रहेको चीनलाई उसमाथि प्रतिबन्ध बढाउन माग गर्ने बताइएको छ ।