८ माघ, जुम्ला । नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेश कर्णालीका इञ्चार्ज शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशको समृद्धिका लागि उत्तर–दक्षिण लोकमार्ग निर्माणमा जोड दिने बताएका छन ।

प्रेस सेन्टर जुम्लाद्वारा आज बिहान आयोजित पत्रकार भेटघाट कार्यक्रममा इञ्चार्ज बस्नेतले नाक्चेलाग्ना–मुगु–गमगढी–जुम्ला–जाजरकोट–दाङ–बाँके जोड्ने लोकमार्गलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइने जनाए ।

फाइल तस्बिर

उनले भने, “मानसरोवर समेत जोड्ने परिकल्पनाबाट आयोजना सम्पन्न गर्न सकिएमा जुम्ला कर्णालीको आधार शिविर बन्छ, साथै पूर्व–पश्चिम राजमार्गलाई रारातालसम्म पुग्नका लागि ६/७ घन्टामा सीमित गर्न सकिन्छ ।” त्यसका लागि टनेल मार्गका रुपमा पनि यसलाई निर्माण गर्न पहल गरिने उनले बताए ।

पूर्व गृहमन्त्री समेत रहेका इञ्चार्ज बस्नेतले मुलुक परिवर्तनको विभिन्न कालखण्डमा थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक तथा सामाजिक परिवर्तन हुन नसकेको बताए ।

“अब हामी विगतका सबै कुराको योगमा समीक्षा गर्छौं र त्यसबाट शिक्षा लिएर मुलुक समृद्धिको कोर्समा लाग्छौँ,” उनले भने । वर्तमान संविधान, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीता माओवादी एजेन्डा भएको जनाउँदै उनले माओवादी मार्ग चित्रमा देश अघि बढिरहेको दाबी गरे ।

स्थानीय तहको निर्वाचन कहिले भन्ने पत्रकारको जिज्ञासामा उनले भने, सरकारले स्थानीय तहको चुनाव जेठसम्म गर्छ । प्रदेश र केन्द्रको चुनाव २०७४ माघसम्म गर्ने सरकारले लक्ष्य लिएको पनि उनले बताए ।

यसमा स्थानीय तहले २२ वटा अधिकार सम्पादन गर्नसक्ने बनाएको उनले बताए । स्थानीय तहको स्वरुप कस्तो हुने भन्ने विषयमा सङ्ख्या तथा सीमा निर्धारण आयोगको प्रतिवेदनले प्रष्ट्याउने जानकारी दिँदै भर्खरै सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोगको प्रतिवेदन बुझेको उनको भनाइ थियो । रासस