३२ साउन, बारा । जिल्ला प्रशासन कार्यालय बाराले निजगढ नगरपालिका—७ योजना टोलस्थित कान्तिपुर पोल्ट्रि ब्रिडिङ्ग फर्मबाट दुर्गन्ध फैलिएर स्थानीयहरु पिडीत भएको भन्दै उद्योग हटाउन प्रहरी प्रशासनलाई मौखिक निर्देशन दिएको छ ।

आज जिल्ला प्रशासन कार्यालय बारामा स्थानीय राजनीतिक दलका प्रतिनीधि, दुर्गन्धबाट प्रभावित स्थानीयहरु, उद्योग सञ्चालकसँग छलफल गरेपछि प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले वस्तीबाट उद्योग हटाउन कति समय चाहिन्छ ? भनेका थिए ।

तर उद्योग सञ्चालक नवराज पौडेलले अर्का सञ्चालक ऋषि बडालसँग सल्लाह गर्नुपर्ने भन्दै समय मागेपछि ५ दिनको समय दिईएको प्रमुख जिल्ला अधिकारी मानन्धरले बताए । आजको छलफलपछि पाँच दिनसम्मका लागि स्थानीयले उद्योगको गेटमा लगाएका ताला समेत खुलाएका छन् ।

पाँच दिनपछि निजगढ नगरपालिकाको कार्यालयमा उपस्थित भएर उद्योग सञ्चालकले आज भएको छलफल र प्रमुख जिल्ला अधिकारीको भनाई अनुसार लिखित सहमति नगरे फेरी छैठौं दिन तालाबन्दी गर्ने योजनाटोल सुधार समन्वय समितिका अध्यक्ष शिवराम श्रेष्ठले बताऐ ।

यसअघि पटक पटक भएको सहमति अनुसार उद्योग प्रशासनले दुर्गन्ध नियन्त्रण गर्न नसक्दा आफूहरुको स्वास्थ्यमा समस्याहरु देखिन थालेपछि स्थानीयले सात दिन धर्नापछि आज विहान उद्योगमा ताला लगाएका थिए । स्थानीयको मागमा समर्थन जनाउंदै स्थानीय राजनीतक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका प्रतिनीधिहरु पनि जिल्ला प्रशासन कार्यालय पुगेर दबाद दिएका थिए ।