१० भदौ, काठमाडौं ।
तराइ बन्दका कारण काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पेट्रोलियम पदार्थको सहज आपुर्ति नहुँदा उपभोक्ता घन्टौं लाइन लागेर पेट्रोल भर्न बाध्य छन् । मंगलवारदेखि तेलको अभाव देखिन थालेको उपभोक्ताहरुले बताए ।

नेपाल आयल निगमले भने तेल अभाव हुन नदिन बुधबार बजारमा तीन लाख ७० हजार लिटर पेट्रोल र पाँच लाख ४४ लिटर डिजेल वितरण गरेको जनाएको छ । बुधवार राजधानीमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पमा तेल भर्नेको ठुलो लाइन थियो ।

निगमले पेट्रोलियम पदार्थको अभाव हुन नदिन भारतमै रोकिएका तेल ट्यांकरलाई ’स्कर्टिङ’ गरेर ल्याउन थालेको जनाएको छ । तराईमा विभिन्न समूहले गरेको निरन्तरको बन्दले ढुवानीमा समस्या भएको छ । यसैबीच निगमले अझै एक हजार एक सय किलोलिटर पेट्रोल र पाँच हजार किलोलिटर डिजेल स्टक रहेको जनाएको छ ।