२४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्रीको बरियता विवाद टुंगो लगाएका छन् ।

उनले आफू पछिको दोस्रो बरियतामा राप्रपाका अध्यक्ष तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई तोकेका हुन् ।

गृहमन्त्री बिमलेन्द्र निधिले आफूलाई दोस्रो बरियता दिनुपर्ने माग गर्दै आए पनि प्रधानमन्त्री प्रचण्डले थापालाई रोजेका हुन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरुसँगको छलफलपछि थापालाई दोस्रो बरियतामा राख्ने निश्कर्षमा पुगेकाे प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बालुवाटारमा बसेको पार्टीको हेडक्वाटर बैठकमा समेत प्रचण्डले थापालाई नै दोस्रो बरियतामा राखेको बताएका थिए । निधि र थापाबीच कसलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने भन्ने विवाद सुल्झाउन नसक्दा मन्त्रिपरिषदको बैठक तीन साता देखि बस्न सकेको छैन ।

विवादकै कारण आजका लागि बोलाइएको बैठक पनि आइतबारका लागि सारिएको छ ।