१३ मंसिर, तनहूँ ।
तनहुँमा पनि उपभोग्य वस्तुको मूल्य अकासिएको छ । एक किलो चनाको १ सय ५० रुपैयाँ तिरेका तनहुँको व्यास–१ भादगाउँका श्रीकृष्ण श्रेष्ठले भने, ‘नाकाबन्दीअघि ९० रुपैयाँमा पाइन्थ्यो । यही अनुपातले महँगी बढे त बाँच्नै गाह्रो भयो ।’ सबैजसो उपभोग्य वस्तुमा भाउ बढेको उनले बताए । १२ रुपैयाँ पर्ने चाउचाउको २० रुपैयाँ परेको उल्लेख गर्दै उनले भने, ‘भनेजस्ता सामान पाइँदैनन्, पाइहाले भाउ धेरै बढेको छ ।’

नाकाबन्दीअघि २/३ दिनको अन्तरमा ग्यासका सय थान सिलिन्डर बेच्दै आएका ग्यास बिक्रेता महासंघका केन्द्रीय सचिव दिनेश श्रेष्ठले भने, ‘एक त सिलिन्डिर नै आइपुग्दैनन्, आइहाले पनि पर्याप्त छैन । गरिखानै गाह्रो परेको छ ।’ साताअघि श्रीमाया कम्पनीको सात सय किलोग्रामको ४ सय थान ग्यास ल्याउँदा प्रहरी राखेर वितरण गर्नुपरेको उनले बताए । यस्तै, यातायात व्यवसायीले पनि भाडा बढाएका छन् ।

दमौलीबाट क्यामिन–१ कलेस्तीसम्मको ८ किलोमिटरको बसभाडा ३५ रुपैयाँँ हो । यही बाटोमा अहिले भाडा ५० रुपैयाँ भएको छ । ‘तेब्बर महँगोमा डिजेल किनेको भन्छन्, ५० रुपैयाँ छाडदैनन्’, क्यामिन–१ कलेस्तीका राम श्रेष्ठले भने, ‘गाडीभाडा सबैतिर बढेकै छ । नबढ्ने भनेको जनताको आयस्तामात्रै रहेछ ।’

त्रिशक्ति ब्रान्डको तोरी तेल १० लिटरको २० पोका १२/१३ सय रुपैयाँमा किनबेच हुँदै आएकोमा अहिले २३ सय पुगेको दमौलीस्थित पुष्पाञ्जली किराना पसलका सञ्चालक रमेश घिमिरेले बताए । ‘मागअनुसारको पाइँदैन, जति पाइन्छ भाउ बढेर आएको छ,’ उनले भने, ‘बढेर आएपछि हामीले घटाएर पुरानो दरमा कसरी बेच्ने ?’ प्रतिकिलो १ सय ४० को मुसुरोको दालको १ सय ६० रुपैयाँँ पुगेको छ । मूल्य बढेपछि आफूले दाल, चनालगायतका खाद्यान्न राख्न छाडेको उनले बताए । इन्धन अभावका कारण ढुवानी भाडा बढेको छ । कान्तिपुरमा खबर छ ।‘प्रशासनले यो बेला अनुगमन प्रभावकारी बनाउनुपर्छ,’ उपभोक्ता हित संरक्षण मञ्च अध्यक्ष सीताराम बजगाईंले भने, ‘नाकाबन्दीले उपभोग्य सामग्रीमा कस्तो प्रभाव पारेको छ भन्नेतर्फ प्रशासनको ध्यान जान जरुरी छ ।’