५ असार, काठमाडौं ।

राजपा नेपालका नेता मनिषकुमार सुमनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट पैसा लिएर चुनावमा सहभागी भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सुमनले उपेन्द्र यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भाग लिएको आरोप लगाएका हुन् ।

उनले भने,‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेशी जनतालाई धोका दिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण म सँग छ, पर्यो भने देखाउन सक्छु ।’

नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दापनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाए ।

उनले भने, ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नको लागि जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो।’

उनले हिजो भएको उम्मेद्ववारी मनोनयनमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको प्रति प्रतिक्रिया दिँदै भने, ‘तीनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीति विपरित उभिनेहरुलाई हामी कारवाही गर्छौं ।’

त्यस्तै उनले राजपा छोडेर अन्य पार्टीमा प्रवेश गरेको विषयमा टिप्प्णी गर्र्दै भने, ‘यसले केही असर पार्दैन्, राजपा छोड्नेहरुलाई के भन्ने ? छोडेर जाने गैसक्ये।’ ‘अल बिदा, आन्दोलन गर्न नसकेर, डराएर जानेहरु, भागेर जानेहरुलाई केही भन्न सकिँदैन्, जाने गए ।’