३१ जेठ, काठमाडौं ।

चुनावमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीका नेताहरु संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादावमाथि खनिन थालेका छन् । विभिन्न ठाउँमा समाजवादी फोरमका कार्यक्रम विथोलिएको छ भने उपेन्द्र यादव माथि पनि आक्रमणका प्रयास भएका छन् ।

२८ गते बुधवार सर्लाहीमा समाजवादी फोरमले आयोजना गरेको कार्यक्रम बिथोल्ने चेतावनी दिएका राजपा कार्यकर्ताले यादवमाथि नै आक्रमणको प्रयास गरेका थिए तर कार्यक्रम नै गर्न नदिने धम्की दिएर अवरोधमा उत्रिएका राजपा कार्यकर्तालाई फोरम नेपालका कार्यकर्ताले लखेटिदिए ।

हिजो पनि तराईका विभिन्न जिल्लामा सामान्य झडपका घटना भए । सामान्य घटना र आक्रमणका प्रयास मात्र होइन, राजपाका नेताहरुले उपेन्द्रमाथि उत्तेजक अभिव्यक्तिहरु दिइरहेका छन् । आज बीरगंजमा भएको कार्यक्रममा राजपा मण्डलका सदस्य राजेन्द्र महतोले उपेन्द्र यादब केपि ओलीको नयाँ अवतारको रुपमा उदाएको बताए ।

नेता महतोले कुनैबेला मधेशको मसिहाको रुपमा चिनिने फोरम नेता उपेन्द्र यादब आजभोली के.पि. ओलीकै लाईनमा सीमा पारिबाट आएका केही ब्यक्तिले मधेस आन्दोलन संचालन गरेको भनेर बोल्न थालेकोले मधेसी जनताले उनलाई केपीको नयाँ अवतारको रुपमा लिन थालेको बताए । महतोले यादवको मानसिक अवस्था ठिक नभएको समेत भन्न भ्याए ।

आजै राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजकिसोर यादवले जनकपुरमा उपेन्द्र यादवको पार्टी कार्यालयमा मधेसी जनताले आगो लगाउने तयारी गरेपछि प्रहरीले उच्च सुरक्षा दिएर राखेको बताएका थिए ।

जनकपुरमा राजपा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले उपेन्द्र यादवलाई मधेशी जनताले हिसाब मागिरहेको बताए । चुनाबमा जाने कुरो गरेर उपेन्द्र यादवले मधेशी जनतालाई ठगेको आरोप लगाउँदै झाले मधेसी जनताले एक एक हिसाव गरेर बसेको भन्दै यादव राजपाको निसानामा रहेको संकेत गरे ।

मधेस आन्दोलनका शुत्राधार उपेन्द्र यादव अघिल्लो चुनावमा नै सहभागि भइसकेको, दोस्रो चरणको चुनावमा पनि उनको पार्टी खुलेर लागेको र मधेसमा कुनै पनि शक्तिले चुनाव रोक्न नसक्ने अभिव्यक्ति दिएपछि राजपा यादव प्रति थप आक्रोशित भएको छ ।

मधेसमा यादवलाई निसाना बनाउन खोजिएको छ । सरकार र अन्य पार्टीभन्दा बढी आलोचना उनकै भएको छ भने तराईका विभिन्न जिल्लामा यादवका पुत्ला जलाइएको छ । यसरी यादवलाई सबैभन्दा बढी तारो बनाउन खोज्नुको कारण के हो त ?

यादव राजपाका अघिल्तिर तगारो बनेका छन्, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार मधेसी जनताको अधिकारका लागि आन्दोलन गरेनन्, बरु उनी हरेक पटक जसो सरकारमै सहभागि भए । त्यसैले राजपाका नेताहरुलाई आफूहरुको आन्दोलनमा साथ दिने त्यति आश पनि थिएन ।

तर लामो समय आन्दोलनमा सहकार्य गरेका अनि संघीय गठबन्धनको नेतृत्व गरेका उपेन्द्र यादवले साथ छोडेर चुनावमा सहभागी भएपछि आफूहरु ओझेलमा पर्ने राजपाका नेताहरुको बुझाई छ ।

अनि राजपाविना समाजवादी फोरम चुनावमा जाँदा आफूहरुले पाउने भोट पनि फोरमले पाउने भएपछि अस्तित्व खतरामा पर्ने बुझाई राजपाको हुनुपर्छ । त्यसैले उपेन्द्रले यस्तै चर्का अभिव्यक्ति र केही छिटपुट घटनाको पनि सामना गर्न नपर्ला भन्न सकिन्न ।