११ मंसिर, भक्तपुर  आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारको घरलाई लक्षित गरी बम विस्फोट गराएपछि उनीहरुले सुरक्षाको माग गरेका छन् ।

क्षेत्र नं १ को प्रदेश (क) मा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री र क्षेत्र नं २ को प्रदेश (ख) मा काँग्रेसकै उम्मेदवार गणेशमान चक्रधरको घरलाई लक्षित गरी शनिबार साँझ प्रेसर कुकर बम विस्फोट गरिएपछि उनीहरुले सुरक्षाको माग गरेका हुन् ।

बम विस्फोटको घटनाले परिवारका सदस्यहरुलाई आतंकित बनाएको प्रदेशसभा (ख)का काँग्रेस उम्मेदवार अनिल भूजुले बताए। प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई भेटेर सुरक्षाको माग गर्दै प्रत्येक दिन राति उम्मेदवारको घर तथा टोलमा प्रहरी गस्ती गर्न आग्रह गरिएको उनले बताए ।

विशेषगरी काँग्रेसका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली काँग्रेस चाँगुनारायण नगरसमितिका संयोजक यादवप्रसाद अधिकारीले बताए। रासस