१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले शान्तिपूर्ण र व्यवस्थित ढङ्गले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दोस्रो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको जनाएको छ ।

आयोगले आज पत्रकार सम्मेलन गर्दे प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उत्साहपूर्ण ढंगले उम्मेदवारी दर्ता भएको जनाएको हो । दोस्रो चरणमा हुने प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि प्रतिनिधि सभातर्फ १ सय २८ सदस्यका लागि ५ सय २२ जनाको उम्मेदवारी दर्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको आयोगले जनाएको छ ।

त्यसैगरी २ सय ५६ जना प्रदेश सभा सदस्यका लागि ८ सय ८३ जनाले उम्मेदवारी दिएको निर्वाचन आयुक्त सुधिर कुमार शाहले जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्रमा ‍‍औसत ४ जनाको उम्मेदवारी परेको छ भने प्रदेश सभातर्फ औसत ३ दशमलव ४४ जनाको उम्मेदवारी परेको छ । दोस्रो चरणको निर्वाचनमा एक करोड २१ लाख ९८ हजार ८ सय ५२ जना मतदातालाई मतदानको अधिकार रहेको छ ।