२७ कात्तिक, खोटाङ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको हो ।

लामीडाँडा गाउँपालिका–२ खार्पा घर भएका उम्मेदवार पोखरेलले गुण्डा र पैसाको बलमा चुनाव जित्ने प्रयत्न गरेको तथा नगर प्रमुख राईले चुनाव जितेर देश लुट्न लागिपरेकाले घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ । यस्तै, बस्नेत परिवारले स्थानीयवासी सोझासाझा जनतालाई शोषण तथा दमनमा पारेर शासन गरेकाले नियन्त्रणमा लिइएको पनि उल्लेख गरिएको छ ।

नियन्त्रित घरजग्गा तथा उनीहरुको चलअचल सम्पत्ति स्थानीय जनताले उपभोग गर्ने उनीहरुको घरघरमा टाँसिएको विज्ञप्तिमा उल्लेख छ । नगर प्रमुख राईको घरमा शनिबार राति विज्ञप्ति टाँस्नुका साथै आँगनमा पार्टीको झण्डा गाडेको तथा अन्यको विभिन्न समयमा विज्ञप्ति टाँसेको पाइएको छ

हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफूहरुलाई विनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो । “उनीहरुले हाम्रो पनि समानान्तर सरकार छ भन्थे ।” नगर प्रमुख राईले भने “आधा कार्यक्रम हामी सञ्चालन गर्छाैं भन्दै पटक–पटक बजेट माग गर्यो ।”

विप्लव कार्यकर्ताको पटक–पटकको धम्कीपछि खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी र प्रहरी नायब उपरीक्षक लोकदर्शन थापालाई समेत जानकारी गराइएको नगर प्रमुख राईले बताए । जिल्लामा उक्त पार्टीको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थालिएको प्रनाउ थापाले बताए । रासस