२१ फागुन, एजेन्सी।
हलिउड स्टार ह्यु ज्याकम्यानले चर्चित पात्र ‘उल्भरिन’को भूमिकाको लागि शाहरुखको नाम अगाडी सारेका छन्। ज्यानम्यानको प्रस्तावको प्रतिक्रिया दिदैँ शाहरुखले पनि पहिले आफ्नो छातीमा रौँ हुनुपर्ने प्रतिक्रिया दिएका छन्।

१७ वर्ष पहिले सुरु भएको ‘द उल्भरिन’ फिल्म सागामा म्युट्यान्ट (असामान्य आनुवांशिक गुण भएका मानिस) को भुमिका निभाएका ह्यु ज्याकम्यानले ‘एक्स म्यान’का नौ वटा फिल्ममा अभिनय गरिसकेका छन्।

‘उल्भरिन’ फिल्ममा उनको पात्रको नाम हो। यो श्रृंखलामा अन्तिम फिल्म ‘लोगान’मा उनको अभिनयलाई फेरि एक पटक प्रशंसा गरिएको छ। फिल्मको प्रमोशन गर्न ताइवान पुगेका ज्याकले ‘सायद शाहरुखले’ उनको अभिनय गर्न सक्ने बताएका हुन।

यसैविषयमा आफ्नो फ्यानको ट्वीटको प्रतिक्रिया दिदैँ शाहरुखले उल्भरिनको भूमिका गर्न ‘छातीमा रौँ चाहिन्छ…यसमा काम हुदैछ। ह्यु र उल्भरिनलाई माया’ भनी ट्वीट गरेका छन्।

‘लोगान’ यहि शुक्रबार (मार्च ३) देखि विश्वभर रिलिज भएको छ। ह्यु ज्याकम्यानको प्रमुख भुमिका रहेको यो फिल्म ‘उल्भरिन’को रुपमा उनको अन्तिम फिल्म हो। फिल्मले निकै राम्रो प्रतिक्रिया बटुलेको छ।