४ असोज, काठमाडौं ।

एएफसी अण्डर सिक्टिन फुटवल च्याम्पियनसीपको छनौट चरणको खेल आजवाट काठमाडौंको हल्चोकस्थित एपिएफ रंगशालामा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज भारत र प्यालेस्टाइन भिड्नेछन् ।

अर्को खेलमा नेपालले कठिन प्रतिद्धन्द्धी इराकसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे ३ बजे सुरु हुनेछ । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार भारतको सामना गर्नेछ भने तेस्रो तथा समूहको अन्तिम खेलमा आइतबार प्यालेस्टाइनसँग खेल्नेछ ।

समूह डी मा आयोजक नेपालसहित भारत, इराक र प्यालेस्टाइन सम्मिलित प्रतियोगिताको समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ को एएफसी अण्डर सिक्टिन फुटवल च्याम्पियनसीपका लागि छनोट हुनेछ ।

यसअघि नेपाली टोलीले छनौट चरण पार गरेपनि बढि उमेरका खेलाडी खेलाएका कारण प्रतियोगितावाट बाहिरिएको थियो । नेपालले अहिलेसम्म तीन पटक छनौट चरण पार गरिसकेको छ । एउटै समूहमा रहेका इराक नौ र भारत सात पटक छनौट भैसकेका छन् ।