१५ फागुन, रौतहट ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले जिल्ला प्रहरी कार्यालयभन्दा पूर्वपट्टि रहेको ब्यारेक मैदानमा विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गरिरहेका थिए । कार्यक्रम स्थलबाट झण्डै चार सय मिटर पश्चीममा रहेको बिपि चोकमा भने प्रहरी र प्रदर्शनकारी एक आपसमा भिडदै थिए ।

फाइल तस्बिर

गौरका स्थानीय व्यापारी तथा समाजसेवी शम्भू साह सहितका व्यक्तिलाई नेता नेपालले पार्टी प्रवेश गराएका छन् । कार्यक्रम सुरक्षाका लागी ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको थियो ।

एमालेलाई मधेश विरोधी पार्टी भन्दै विरोधमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मी बिच ढुङ्गा हानाहान हुँदा झण्डै तिन घण्टासम्म त्यस क्षेत्र तनावग्रस्त बनको थियो । प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीले एक सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रर्दशनकारीले हानेको ढुङ्गा लागेर प्रहरी जवान राम विनय यादव घाइते भएका छन् भने प्रहरीको लाठीबाट पत्रकार प्रभात झा सहित स्थानिय नन्दकिशोर पटेल घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले गौर ८ वाल्मीकिनगरमा एमाले कार्यकर्ताले प्रयोग गरेको बिआर ०६ पी ५४६१ भारतीय नम्बरको जीपमा आगो लगाएका छन भने अर्को एक जिपको सिसा फुटाएका छन् ।

यसैबीच झडपका क्रममा रिपोर्टिङ्गमा रहेका अग्रेंजी दैनिक द हिमालयनका पत्रकार प्रभात कुमार झा लाई सशस्त्र प्रहरीका जवानले कुटेको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखा लगायत अन्य पत्रकार समूह र संगठनले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर विरोध गरेका छन् ।

रिपोर्टिङ्गमा रहेका पत्रकार माथि अनावश्यक रुपले सशस्त्र प्रहरीले बल प्रयोग गरेको भन्दै पत्रकारहरुले घटनाको निन्दा गरेका छन भने दोषी माथि कारवाहीको माग समेत गरेका छन् ।